काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुदूरपश्चिम, कर्णालीलगायत बहिस्करणमा परेका क्षेत्रलाई बजेट विनियोजनलाई विशेष प्राथमिकतामा राखिने बताएका छन् ।
आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफमा अर्थमन्त्रीले कमजोर वर्गलाई माथि उठाएर नै मध्यम वर्गको विस्तार गरिने उल्लेख गरे ।
विकासको मार्गचित्र स्पष्ट भए मात्रै सहज रूपमा कार्यान्वयन हुने मान्यतामा आफू रहेको स्पष्ट पार्दै अर्थमन्त्रीले पहिलो पटक ‘मिसन मोड’लाई अभ्यासमा राखिएको बताए । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले सरकारको दृष्टिकोण मात्रै प्रतिबिम्बित गर्दैन कार्यान्वयमा पनि इमान्दार प्रयत्न गर्नुपर्छ भन्नेमा पनि आफू स्पष्ट रहेको उनले उल्लेख गरे ।
सभामुख डोलप्रसाद अर्यालले विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका सम्बन्धमा सांसदहरूले राखेको सुझाव र धारणा समेटेर सङ्घीय संसद् सचिवालयले आवश्यक प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थमन्त्रालयमा पेस गरिने जानकारी गराए ।
त्यसअघि छलफलमा भाग लिँदै सांसद अर्जुनकुमार कार्की गरिब र गरिबी भन्ने कुनै पनि शब्द विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तमा कहीँ कतै पनि समावेश नभएकामा गुनासो गरे ।





























प्रतिक्रिया