काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्ने बताएका छन् ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा आज आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम २०८२ लाई सम्बोधन गर्दै उहाँले सो धारणा व्यक्त गरेका हुन् । “किसानको मुस्कानमा राष्ट्रको खुसी लुकेको हुन्छ अनि किसानको प्रगतिमा देशको समृद्धि गासिएको हुन्छ, तसर्थ परिवर्तित सन्दर्भमा कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्दछ”, उनले भने ।
मुलुकको समृद्धिको प्रमुख आधार नै कृषि भएको र किसान राष्ट्रका गहना हुन् भन्दै उनले कृषि क्षेत्रलाई जीविकोपार्जन मात्र नभएर राष्ट्र निर्माणको प्रमुख आधारशीलाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । “यसका लागि श्रम गर्ने संस्कृतिको विकास गर्नुपर्दछ, किसानको मेहनत, पसिना र समर्पणले नै देशको अर्थतन्त्र चलायमान बनेको छ”, राष्ट्रपति पौडेलले भने ।
उनले राज्य, निजी क्षेत्र तथा सम्पूर्ण सरोकारवाला निकाय एकताबद्ध भएर कृषिमा लगानी, प्रविधि, बजारीकरण तथा युवा सहभागिता अभिवृद्धि गर्न अग्रसर हुनुपर्ने खाँचो औँल्याए ।
“युवाशक्तिको ऊर्जा, आधुनिक प्रविधिको प्रयोग र राज्यको दूरदर्शी नीतिसँगै कृषि क्षेत्रलाई उत्पादन, रोजगारी र समृद्धिको मूल आधार बनाउनुपर्छ, यसका लागि कृषकको सम्मान, कृषि पेसाको संरक्षण तथा आधुनिकीकरण आजको आवश्यकता हो”, राष्ट्रपति पौडेलले भने ।
राष्ट्र निर्माणको आधारस्तम्भ तथा राष्ट्रको समृद्धिका सम्वाहक कृषकलाई सम्मान गर्न पाउँदा आफूलाई हर्ष अनुभूति भएको उनको भनाइ थियो । साथै, कृृषकको मेहनत, सीप र पौरखले देश समृद्ध बन्छ, यो राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार तथा सम्मान कार्यक्रमले कृषि पेसालाई सम्मानित पेसाका रूपमा स्थापित गर्न योगदान पुर्याएको उनले बताए ।





























प्रतिक्रिया