मकवानपुरमा तेस्रो पटक भिड्दै थापा र दाहाल, खतिवडा र उपाध्याय

मकवानपुरमा तेस्रो पटक भिड्दै थापा र दाहाल, खतिवडा र उपाध्याय

केन्द्रबिन्दु
0
Shares

अञ्जली थापा । हेटौंडा, १३ मंसिर ।

चिसो मौसमसँगै मकवानपुरमा यतिबेला चुनावी सरगर्मी बढेको छ । मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तेस्रोपटक प्रतिस्पर्धामा ओर्लिएका छन् ।

वि.सं. २०५१ र २०५६ संसदीय निर्वाचनको प्रतिस्पर्धामा संगै ओर्लिएका उम्मेदवार पुनः यसपटक चुनावी मैदानमा उत्रिएको हुन् । दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरको निर्वाचन क्षेत्र–१ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापा र वाम गठबन्धनका उम्मेदवार कृष्ण दाहाल यसपटक पनि निर्वाचन प्रतिस्पर्धामा संगै छन् ।

दुबै निर्वाचनमा दाहालले थापालाई पराजित गर्दै मकवानपुरबाट सांसद बन्न सफल भएको एमाले मकवानपुरले जनाएको छ ।

दाहालले मकवानपुरको विकासमा गरेको महत्वपूर्ण योगदानका फलस्वरुप आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै यसपटक जितेर गएपछि आफूले पक्की पुलदेखि द्रुतमार्गसम्मका योजना अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेता थापाले आफूले जितेर गएमा प्रधानमन्त्रीसम्म बन्ने हैसियत भएकाले आफूलाई मत दिन मतदातासँग अनुरोध गरेका छन् । लोकतन्त्रको रक्षा कम्युनिष्टबाट नहुने बताउँदै उनले लोकतन्त्र र हिन्दू धर्मरक्षाका लागि लोकतान्त्रिक गठबन्धनलाई मत दिन आग्रह गरे ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर–२ मा लोकतान्त्रिक गठबन्धनबाट महालक्ष्मी उपाध्याय (डिना) र वाम गठबन्धनबाट विरोध खतिवडा उम्मेदवार बनेका छन् । यसअघिको संसदीय निर्वाचन २०५१ र २०५६ मा दुबै जना पनि एक अर्काको प्रतिस्पर्धीका रुपमा थिए ।

दुईवटै निर्वाचनमा खतिवडा विजयी भएका थिए । उपाध्यायले दुई पटकसम्म खतिवडाले आफूलाई जितेको भए पनि यसपटक भने जित्ने पालो आफ्नो रहेको बताए ।

नेपाली काँग्रेस मकवानपुरमा आएको पार्टी प्रवेशको लहरले आफू जित्ने दाबी उनको छ ।

उपाध्यायको प्रतिद्वन्द्वीका रुपमा रहेका खतिवडाले मकवानपुर जिल्ला कम्युनिष्टको लालकिल्ला रहेको र थाहा दर्शनका प्रतिपादक रुपचन्द्र विष्टको जन्मभूमी रहेकाले पनि यहाँ वाम गठबन्धनको हार नहुने बताए ।

सन् २०६२-६३ को जनआन्दोलनपछिको २०७४ सालको संविधानसभा निर्वाचनमा चारवटै क्षेत्र माओवादीले जितेको थियो भने संविधानसभा दोस्रो निर्वाचनमा तीन क्षेत्र एमाले र एउटामा नेपाली काँग्रेस विजयी भएका थिए । रासस

Logo