काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सुनसरीको देवानगञ्ज घटनापछि नेपाली सेना परिचालन गरिएको विषयमा प्रश्न उठाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा धारणा सार्वजनिक गर्दै उनले सरकारले संविधान र कानुनी व्यवस्थाअनुसार मात्रै सुरक्षा निकाय परिचालन गर्नुपर्ने बताएका हुन्।
‘देशभित्र शान्ति, सुरक्षा र कानुनको शासन कायम गर्न आवश्यक परे नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई थप प्रभावकारीरूपमा परिचालन गर्नुहोस्, तपाईंको साथमा छौँ,’ शाहीले लेखेका छन्। तर, उनले ‘नेपाली सेनालाई सीमाको रक्षा र राष्ट्रिय सुरक्षाका लागि परिचालन गरिन्छ, आफ्नै जनताको घर–घरमा डर देखाउन वा दबाब सिर्जना गर्न होइन’ भन्दै सरकारको कदमप्रति असन्तुष्टि जनाएका छन्।
शाहीले संविधानअनुसार नेपाली सेना परिचालनका लागि आवश्यक संवैधानिक प्रक्रिया अनिवार्य रहेको दाबी गरेका छन्। ‘नेपाली सेना परिचालन गर्नुअघि राष्ट्रपतिबाट आपतकाल घोषणा हुनुपर्छ वा संविधानको धारा २६७(४) अनुसार राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस हुनैपर्छ,’ उनले उल्लेख गरेका छन्।
उनले संविधानको धारा २७३ को उल्लेख गर्दै युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह, चरम आर्थिक संकट वा प्राकृतिक विपद्का अवस्थामा मात्रै नेपाली सेना परिचालन गर्न सकिने व्यवस्था रहेको बताएका छन्।
‘नागरिकमाथि शान्ति–सुरक्षा कायम गर्ने मुख्य जिम्मेवारी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको हो,’ शाहीले भनेका छन् ।




















