आज भारत र पाकिस्तानबीच ‘हाइ भोल्टेज’ भिडन्त

आज भारत र पाकिस्तानबीच ‘हाइ भोल्टेज’ भिडन्त


१० वर्षपछि भारत–पाकिस्तानबीच फाइनल भिडन्त ।

परिणामबारे २ हजार करोडको सट्टेबाजी

 को बन्ला ‘च्याम्पियन अफ दि च्याम्पियन्स’

– जयदेव गौतम । काठमाडौँ, ४ असार ।

भारत र पाकिस्तानबीच लन्डनको ओभल ग्राउन्डमा आज अपरान्ह सवा तीन बजे सुरु हुने ‘च्याम्पियन अफ दि च्याम्पियन्स’ बन्ने प्रतिस्पर्धा हुँदैछ । इंगल्यान्ड र वेल्समा भइरहेको च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिता–२०१७ को फाइनलमा यी दुई दक्षिण एसियाली छिमेकी देश आमने–सामने हुँदैछन् ।

म्याचको परिणामबारे अहिलेसम्ममा २ हजार करोडको सट्टेबाजी भएको तथ्य अगाडि आइसकेको बताइएको छ ।

च्याम्पियन्स ट्रफी क्रिकेट २०१७ मा सुरु हुनु पहिलेसम्म भएका आपसी भिडन्त पाकिस्तानको पक्षमा छन् । तीनपटक यी दुई देशबीच म्याच हुँदा दुईमा पाकिस्तान र एकमा भारत विजयी रहेका छन् ।

सन् २००४ मा इंगल्यान्डमा भएको च्याम्पियन्स ट्रफीमा समूह चरणमा पाकिस्तानले भारतलाई तीन विकेटले पराजित गरेको थियो भने सन् २००९ मा दक्षिण अफ्रिकामा भएको च्याम्पियन्स ट्रफीमा पनि समूह चरणमै पाकिस्तानले भारतलाई ५४ रनले हराएको थियो । त्यसपछि २०१३ मा इंगल्यान्डमा भएको च्याम्पियन्स ट्रफीको समूह चरणमा भारतले पाकिस्तानलाई डकवर्थ–लुइस नियमका आधारमा आठ विकेटले हराएको थियो ।

च्याम्पियन्स ट्रफीको फाइनलमा यी दुई देशबीच पहिलोपटक फाइनल भिडन्त हुन लागेको हो । यसपटक सेमिफाइनलमा पाकिस्तानले आयोजक इंगल्यान्डलाई आठ विकेटले र भारतले अर्को दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशलाई नौ विकेटले पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन् ।

पकिस्तानले इंगल्यान्डका अतिरिक्त दक्षिण अफ्रिका र श्रीलंकालाई पराजित गरेको थियो भने भारतले लिग चरणमा श्रीलंकाविरुद्ध पराजय भोगे पनि पछि पाकिस्तान र दक्षिण अफ्रिकालाई र सेमिफाइनलमा बंगलादेशलाई हराएको थियो ।
यसअघि लिग चरणमा एउटै समूह ‘बी’मा रहेका यी दुई देशबीच भएको पहिलो खेलमा भारतले पाकिस्तानलाई १२४ रनले पराजित गरेको थियो । तर फाइनलको कुरा अर्कै हुने गर्दछ ।

फाइनल त परै जावस्, यी दुई देशबीचको कुनै अभ्यास म्याचप्रति समेत करोडौँ क्रिकेटप्रेमीको ध्यान तानिने गर्छ । प्रतियोगिता अन्तर्गत भारत–पाकिस्तान म्याच जहिले पनि ‘हाइ भोल्टेज अफेयर’ हुने गर्दछ । झन् यसपटक त यी दुई प्रतिद्वन्दी देशबीच १० वर्षपछि कुनै ठुलो इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी) प्रतियोगिताका फाइनल हुन लागिरहेको छ ।

यसअघि कुनै ठुलो प्रतियोगिताको फाइनलमा यी दुई देश प्रतिस्पर्धा भएको सन् २००७ मा थियो जतिबेला दक्षिण अफ्रिकामा भएको आइसिसी टी–२० विश्वकपको फाइनलमा भारत–पाकिस्तान आपसमा भिडेका थिए ।

अन्तिम ओभरमा सनसनीखेज तरिकाले समाप्त भएको त्यस टी–२० विश्वकप फाइनलमा भारतले पहिले ब्याटिङ गर्दै गौतम गम्भीरको ५४ बलमा ७५ रनको सहयोगमा १५७ रन बनाएको थियो ।

त्यस अन्तिम ओभरमा रन चेज गरिरहेको पाकिस्तानलाई ६ बलमा ११ रन चाहिएको थियो । कप्तान महेन्द्र सिंह धोनीले बलिङको दायित्व जोगिन्दर शर्मालाई सुम्पे । पहिलो बल वाइड भयो ।

क्रिजमा अन्तिम साथीसित स्थापित ब्याट्सम्यान मिसबाह उल हक थिए । दोस्रो बलमा उनले छक्का प्रहार गरिदिए । अब पाकिस्तानलाई ४ बलमा ६ रन चाहिएको थियो ।

जोगिन्दरले ओभरको तेस्रो बल गरे । मिसबाहले त्यसलाई रिभर्स शट प्रहार गरे । बल माथि उठ्यो । दर्शकहरूलाई स्वाभाविक तवरले लाग्यो– त्यो या त छक्का हो, होइन भने चौका । तर बल मिसबाहले र दर्शकले सोचे जसरी सिमानातिर पुग्न सकेन बरु बिकेटकिपरभन्दा अलि टाढा लेगसाइडमा उभिएका श्रीसंतको हातमा क्याच भएर पो पुग्यो । भारत ५ रनले पाकिस्तानलाई पराजित गर्दै टी–२० विश्वविजेता बनिसकेको थियो ।

मिसबाह अहिले रिटायर भइसके । पाकिस्तानी टोलीमा लगभग नयाँ अनुहार छन् । उसको टिममा अनुभवी शोएब मलिक, मोहम्मद हफिज, अहमद शहजाद र स्वयम् कप्तान सरफराज अहमद छन् भने बलिङको हतियारका रूपमा जुनैद खान, वहाब रियाज र इमाम वसिम प्रमुख छन् ।

भारतीय टिममा सेमिफाइनलका शतकधारी रोहित शर्मा, टोलीका गब्बर सिंह शिखर धवन, कप्तान विराट कोहली, अलराउन्डर रविन्द्र जडेजा र रविचन्द्र आश्विन, धोनी, युवराज सिंह, हार्दिक पाण्ड्या सबै राम्रो प्रदर्शन गरिहेका छन् । अजिन्क्ये राहाणे, दिनेश कात्र्तिक छँदैछन् भने बलिङमा भुवनेश्वर कुमार, जसप्रिस बुमरा, उमेश यादवसमेत छन् ।

रेकर्ड र प्रदर्शन हेर्दा भारतको पक्ष सम्भावित विजेताका रूपमा देखिन्छ तर क्रिकेट भनेको अनिश्चितताको खेल भन्ने गरिन्छ । तसर्थ यसमा ठ्याक्कै भविष्यवाणी गर्न सकिने स्थिति रहँदैन । भन्नेहरू भन्छन्– म्याच भइरहेको बेला जुन टिमले राम्रो खेल्छ, त्यही टिमले बाजी पनि मार्छ ।

सम्भावित टिम
भारत : विराट कोहली (कप्तान), शिखर धवन, रोहित शर्मा, युवराज सिंह, एम एस धोनी, केदार जाधव, हार्दिक पान्ड्या, आर आश्विन, रविन्द्र जडेजा, जसप्रित बुमरा, भुवनेश्वर कुमार, दिनेश कार्तिक, मोहम्मद शमी, अजिन्क्ये रहाणे र उमेश यादव ।

पाकिस्तान : सरफराज अहमद (कप्तान), अहमद शहजाद, अजहर अली, बाबर आजम, मोहम्मद हफिज, शोएब मलिक, हसन अली, मोहम्मद आमिर, रुम्मान रइस, जुनैद खान, इमाम वसिम, फहिम अशरफ, शादाब खान, फखर जमान र हारिस सोहेल ।

Logo