नेपालमा गणतन्त्र, धर्म निरपेक्षता र संघीयता असफल भएको सावित भयोः कमल थापा

नेपालमा गणतन्त्र, धर्म निरपेक्षता र संघीयता असफल भएको सावित भयोः कमल थापा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा गणतन्त्र, धर्म निरपेक्षता र संघीयता असफल सावित भएको बताएका छन् ।  

राप्रपा काठमाडौँ जिल्ला कार्य समितिद्वारा आयोजित पार्टीको चुनाव चिन्ह अनावरण, झण्डोत्तोलन एवं काठमाडौं जिल्ला समायोजन घोषणासभालाई सम्बोधनका क्रममा अध्यक्ष थापाले समसामयिक राजनीतिक परिवेशको चर्चा गर्दै व्यवस्थापिका प्रमुखले कार्यपालिका प्रमुख, न्यायपालिका प्रमुख र राष्ट्रप्रमुख विरुद्ध मुद्धा हाल्नुपर्ने अवस्थाले यहाँभन्दा ठूलो विचित्रको गाईजात्रा कहीँ नदेखेको भनी व्यङ्य गरे ।

०६२/०६३ देखि हालसम्म परिवर्तन र त्यसलाई संस्थागत गर्ने नाममा व्यर्थ समय खर्च भएको बताउँदै अध्यक्ष थापाले उक्त समयमा भएको फजुल खर्चलाई विकास निर्माणमा लगाइएको भए देशको अवस्था धेरै अगाडि पुगिसक्ने बताउँदै अब हरेक नेपाली जनताको चेतनाको स्तरमा उच्च गतिमा विकास भएका कारण राजनीतिको नाममा व्यक्तिगत र गुटगत स्वार्थ बोकेकाहरु पाखा लाग्ने ठोकुवा गरे ।

देशमा संकट र फोहोर सृजना गर्ने शक्तिहरुलाई जनताले पाखा लाउने समय आइसकेकोले अबको विकल्प राप्रपा मात्र भएको जिकिर गर्दै थापाले वैचारिक दृष्टिकोण, निष्कलंक र अनुभवी नेतृत्व भएको राप्रपाले मात्र देशलाई संकटबाट निकास दिनसक्ने दावी समेत गरे । यो अवसर र चुनौतीलाई सामना गर्न सबै पङ्तीका नेता, कार्यकर्ताहरुलाई पार्टीको नीति र सिद्धान्तलाई बोकेर हरेक नेपालीको घरदैलोमा पुग्न आग्रह गर्दै उनले राजसंस्था सहितको लोकतन्त्र, हिन्दुराष्ट्र र स्थानीय स्वायत्त शासन प्रणाली स्थापना गर्न राप्रपा दृढ रहेको दोहोर्याए ।

पार्टी समायोजनलाई प्राविधिक रुपमा मात्र नभएर भावनात्मक एवं आत्मिय रुपमा मनन् गरेर संगठन निर्माणमा लागे राप्रपालाई अग्रणी शक्ति बन्नबाट कसैले रोक्न नसक्ने बताउँदै संगठन निर्माण र विस्तारमा जुट्न काठमाडौँका नेता कार्यकर्ताहरुलाई थापाले निर्देशन समेत दिए ।

अर्का अध्यक्ष पशुपति शम्सेर राणाले झण्डै दुईतिहाइको सरकार बनेको ३ वर्ष बित्न नपाउँदै मुलुकले यस्तो गाईजात्रा भोग्नुपरेकोले अब अझै पनि यिनीहरुबाट कुनै आशा र अपेक्षा राख्ने ठाउँ सकिएको हुँदा संगठन निर्माण गरेर राप्रपालाई देशको प्रमुख शक्ति बनाउनुपर्ने दावी गरे । नेकपा टुक्रिएको अवस्थामा यसै पालो आउँछ भनेर मख्ख परेको प्रमुख प्रतिपक्ष कांग्रेसलाई पनि ३ वर्ष निधाएर बसेको जनताले छर्लङग देखिसकेकोले राप्रपालाई पहिलो शक्ति हुन कसैले छेकेर छेक्न नसक्ने राणाले ठोकुवा गरे ।

आन्दोलन, चुनाव र पार्टीको महाधिवेशन तीनवटै मोर्चालाई उपयोग गर्दै राप्रपाले राजसंस्था पुनस्थापना गरेर देशमा दर्विलो अभिभावक सृजना गरी हिन्दुराष्ट्र कायम गर्न राप्रपा दृढ भएर होमिइसकेकोले आम नेपाली जनताको सहयोगमा सफलता प्राप्त गरेरै छाड्ने उनले बताए  ।

सम्बोधनकै क्रममा अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले काठमाडौँ जिल्ला समायोजनले राप्रपाप्रति शुभेच्छा राख्ने राजधानीबासीहरुको मनोवल उच्च बनाएकोले संगठन सुदृढ गरेर अगाडि बढे सफलता चाँडै हात लाग्ने निश्चित रहेको हुँदा संगठन निर्माणमा जुट्न सबैमा आग्रह गरे ।

पार्टीका काडमाडौँ जिल्ला कार्यसमितिका अध्यक्ष नवराज सिंखडाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पार्टीका वरिष्ठ नेता दिपक वोहरा, विक्रम पाण्डे, विक्रम बहादुर थापा लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

Logo