सुशासन कायम गर्न कानूनको शुद्धता आवश्यकः सभामुख सापकोटा

सुशासन कायम गर्न कानूनको शुद्धता आवश्यकः सभामुख सापकोटा

केन्द्रबिन्दु
0
Shares

सभामुख अग्निप्रसाद सापकोटाले सुशासन कायम गर्न कानूनको शुद्धता र गुणस्तरले बढी भूमिका खेल्ने बताएका छन् । 

सोमबार काठमाडौँमा आयोजित नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) को तेस्रो स्थापना दिवसको अवसरमा आयोजित पत्रकारिता पुरस्कार वितरण एवम् सम्मान कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सभामुख सापकोटाले सुशासनको क्षेत्रमा महत्वपूर्ण विधि, विधान, नीति निर्माण र कानून भएको भन्दै सुशासन कायम गर्नको लागि कानूनको शुद्धता, पवित्रता र कानूनको गुणस्तरले सबैभन्दा बढी भुमिका खेल्ने बताएका हुन् । कानूनमा भएका स–साना छिद्र भित्र पसेर ठूला–ठूला अत्याचार हुने गरेको भन्दै उनले कानूनलाई बलियो बनाउनुपर्नेमा जोड दिए । 

सभामुख सापकोटाले नेपालको संविधानले लोकतन्त्रको सबै आयामहरुलाई समेटेको र नयाँ मूल्यमान्यताहरुलाई आत्मसाथ गर्न खोजेको बताए । संविधानले मौलिक अभ्यास गर्न खोजेको भन्दै उनले संविधानलाई अझै पनि विकास, परिमार्जन र संशोधन गर्नुपर्ने आवश्यकता रहेको र सो को लागि संविधानको सफल कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याए । 

सभामुख सापकोटाले संसद पुर्नस्थापनको निम्ति नेपाली पत्रकारिताले महत्वपूर्ण भूमिका खेलेकाले नेपाली पत्रकारिताप्रति आफ्नो छाति गर्वले फुलेको र श्रद्धाले शिर झुकेको समेत जनाए । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) को तेस्रो स्थापना दिवस (इञ्जा डे) को अवसरमा इञ्जा खोजी पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सुशिल पन्त र टपेन्द्र कार्कीलाई पुरस्कृत गरिएको थियो । त्यसैगरी इञ्जाले पत्रकारिताका गुरु लालध्वज देउसा राईलाई विशेष सम्मान गरेको थियो । 

Logo