प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिको लक्ष्य प्राप्तिमा सरकार दृढताका साथ लागेको बताएका छन् ।
मोरङको उर्लाबारी नगरपालिका–९ रातेहोली किनारमा सरकारले निर्माण गर्न लागेको सन्थाल एकीकृत बस्तीको मंगलबार शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले देशैभरि विकास र समृद्धिको प्रचुर काम भइरहेको जिकिर गरे । सरकार विकास र समृद्धिको महान लक्ष्यमा प्रतिबद्ध भएको जनाउँदै उनले विकास र समृद्धि नचाहने देशी÷विदेशी शक्तिले सरकारविरुद्ध लागेको आरोप लगाए ।
देशको समस्या भनेको विकास र गरिबी भएको उनको भनाइ थियो । तीन वर्ष अघिको नभएका धेरै काम यस सरकारले गर्न सकेको बताउँदै उनले भने, “अब सरकारले देशभरि यहाँका भूमि तथा घरवारविहीन भएकालाई आधारभूत संरचना तयार गरी बसोबासको व्यवस्था गर्नेछ।” यहाँका अल्पसङ्ख्यक सन्थाल जाति राज्यको मूल प्रवाहबाट वञ्चित भएको जनाउँदै उनले यस्ता जातिलाई सामाजिक, आर्थिक, सांस्कृतिकरुपमा सवल बनाउन सके मात्र समृद्धिको लक्ष्य पूरा हुने धारणा राखे ।
समारोहमा शहरी विकासमन्त्री मन्त्री प्रभु शाह, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, मन्त्री डा शिवमाया तुम्बाहाङ्फे, पूर्वसभामुख सुवास नेम्बाङ, प्रदेश–१ प्रमुख सोमनाथ प्यासी, मुख्यमन्त्री शेरधन राई, बागमती प्रदेश प्रमुख डोरमणि पौडेल लगायतको उपस्थिति थियो ।रासस





























प्रतिक्रिया