जसपा संसदीय दलको बैठक सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा जारी छ।
आजको बैठकमा सांसद रेशम चौधरीको रिहाइका साथै सरकारमा जाने लगायतका विषयमा छलफल हुने बताइएको छ ।
बैठकले पार्टीको संसदीय दलको विधान पारित गर्नाका साथै संसदीय दलको नेता चयन गर्ने जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।
जसपा उच्चस्रोतका अनुसार सो दलका अध्यक्ष महन्थ ठाकुरलाई संसदीय दलको नेता चयन गर्ने तयारी छ। “दलको विधान पारित भएपछि संसदीय दलको नेता चयन गर्ने पनि एजेण्डा छ, समय भएमा सम्भवतः आजै नेता चयन हुन्छ, अहिले व्यक्तिको टुङ्गो लागेको छैन”, जसपा स्रोतले भन्यो । राजपा र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन । जसपामा ३४ सांसद रहेकामा दुई जना निलम्बित रहेकाले हाल ३२ मात्र छन्।
सत्ता साझेदारीका लागि निरन्तर परामर्शमा रहेको जसपाले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त छलफल सकारात्मक दिशामा केन्द्रित रहेको र आज थप छलफल हुने जसपा नेता लक्ष्मणलाल कर्णले बताए।
जसपाले कैदीबन्दीको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधन लगायतको माग राख्दै आएको छ । पार्टीले संसदीय दलको बैठकपछि आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्दैछ। बूढानीलकण्ठस्थित देउवा निवासमा साँझ जसपाका शीर्ष नेताले भेटवार्ता गर्ने कार्यक्रम तय भएको जसपा नेता केशव झाले बताए।





























प्रतिक्रिया