हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका समाचारहरु मध्ये नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पार्टीबाट सरकारमा सामेल भएका मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ । आइतबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्र छाडेका नेताहरुलाई पार्टी परित्याग गरेको हो या होइन स्पष्टीकरण दिन समेत निर्देशन दिएको हो।
शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई हटाएर माओवादी पक्षका विभिन्न नेताहरुलाई पार्टीको विभिन्न जिम्मेवारी दिएका थिए । उनको यस्तो निर्णयसँगै अहिले माधव पक्ष रुष्ट बनेको छ। आइतबार माधव समूहले अध्यक्ष ओलीले पार्टीको विधानविपरीत केन्द्रीय सदस्य नियुक्त गरिएको र अवैधानिकरूपले जिम्मेवारी हेरफेर गरिएको भन्दै निर्वाचन आयोगलाई पत्र नै लेखेको हो । पत्रमा आफूहरु निर्वाचित पदाधिकारी र सदस्यहरु भएको भन्दै ओलीको सो निर्णयलाई बैधानिकता नदिन आयोगलाई माधव पक्षले पत्र काटेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सडक निर्माणमा प्राविधिक त्रुटी नगर्न निर्देशन दिएका छन् । आइतबार संघीय संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको जीवन रक्षा महत्वपूर्ण भएकाले सवारी साधन र यात्रुहरुको सुरक्षाको प्रत्याभूत हुनेगरी सडक निर्माण गर्न पनि निर्देशन दिएका हुन् । उनले पक्की सडक भएको ठाउँमा पनि स्तरोन्नति तथा सुधारको काम गर्नुपर्नेमा जोड दिएका छन् । यस्तै सवारी दुर्घटनालाई रोक्न ट्राफिक अनुशासनको कार्यान्वयन तथा अनुगमनमा जोड दिनुपर्ने पनि प्रधानमन्त्री ओलीको सुझाव छ।
खालीबारी युथ क्लबले सहिद स्मारक ’सी’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ । आइतबार भएको उद्घाटन खेलमा झापा एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै खालीबारीले सुखद सुरुवात गरेको हो । यस्तै आजै भएको दोस्रो खेलमा ओसिस क्लब र चर्च ब्वाइज युनाईटेडबीचको प्रतिस्पर्धामा चर्च ब्वाइजले ४–१ गोल अन्तरको जीत दर्ता गरेको छ।
म्यान्मारमा सैन्य कूका कारण सत्ताच्युत भएको समूहका नेता मान विन खाइन थानले सैन्य शासनविरुद्ध क्रान्तिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। गत माघ १९ गते सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि पहिलोपटक सार्वजनिक सम्बोधन गर्दै नेता थानले देशका लागि अहिले सबैभन्दा अँध्यारो क्षण रहेको र अब बिहानी आउन लागेको बताउँदै सबैलाई क्रान्तिमा सामेल हुन आह्वान गरेका हुन् । म्यानमारमा भएको शैन्य कूको विरोधमा उत्रिएका ५ दर्जन बढी प्रदर्शनकारीहरूको मृत्यु भइसकेको छ।





























प्रतिक्रिया