सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बोलाइएको छ ।
बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने सम्भावित कार्यसूची तय भएको छ।
यसैगरी सभामुखले संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको सङ्घीय संसद्को सचिवालयले जनाएको छ । प्रतिनिधिसभा पुनःस्थापना गत फागुन ११ गते भएपछि आज तेस्रो पटक बैठक बस्न लागेको हो ।
यसअघि गत फागुन २३ र २६ गते बैठक बसेको थियो । प्रतिनिधिसभाको बैठक सञ्चालन तयारीका लागि सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बसेको थियो। सरकारको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकामा रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले पुनःस्थापना गर्ने फैसला सुनाएको थियो।





























प्रतिक्रिया