हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका समाचारहरु मध्ये नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेतृत्वका विरुद्ध आफूखुसी गुटगत भेला नगर्न/नगराउन र त्यस्ता भेलामा सरिक नहुन सबै नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव नेपाल समूहले आव्हान गरेको भेलामा सहभागी नहुन निर्देशन दिएका हुन्। मुद्दा लडेर फिर्ता ल्याएको संसद आफैंले चल्न नदिने, आफैं बहिष्कार गर्ने, व्यवधान खडा गर्ने र आफैं नारा लगाउने स्थिति देखिएको भन्दै ती कार्यले सरकारलाई पनि संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पुरा गर्न नदिएको टिप्पणी उनको छ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र) लाई ब्युँताइसकेपछि पहिलोपटक मंगलबार सिंहदरबार स्थित दलको कार्यालयमा बसेको नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकले एकता पूर्वको अवस्थामा रहेकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता तथा देव गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको सांसद वर्षमान पुनले बताएका छन् ।
नेपालमा पहिलोपटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’का लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीलाई ‘ए’ श्रेणीमा राखिएको छ । प्रतियोगितामा प्राविधिक सहयोग गरिरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशभर रहेका खेलाडीको वर्गीकरण गरी आयोजकलाई नाम सिफारिस गरेको हो । प्रतियोगितामा सहभागी क्लबले ‘ए’ श्रेणीका ३२ खेलाडीलाई करिब २ लाखको न्यूनतम मूल्यमा किन्न सक्नेछन् ।
जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्न कानुनी समस्या देखिएको छ। रेल सञ्चालन सम्बन्धी विधेयक संसदमा विचाराधीन रहेका कारण सञ्चालन प्रक्रिया अगाडि बढ्न समस्या भएको हो। विधेयक पारित भएर कानुन नबनेसम्म रेल सञ्चालन गर्न नमिल्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दावी गर्दै आएको छ ।
नेकपा (एमाले) माधव पक्षको राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि सुरु हुँदैछ। भेलाबारे जानकारी दिन मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई शक्ति र धम्की भाषा प्रयोग नगर्न चेतावनी दिएका छन्। गुटगत भेला गरे कारवाही हुनसक्ने संकेत गरेका प्रधानमन्त्रीलाई उनले अहंकारको भाषा प्रयोग नगर्न समेत सुझाव दिएका हुन्।





























प्रतिक्रिया