नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपालले पार्टीलाई एकताबद्ध बनाउनका लागि राष्ट्रिय भेलाको आयोजना गरिएको बताएका छन्।
बुधबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नेपाल-खनाल समूहले ललितपुरको सानेपामा गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीलाई ध्वंस गर्नका लागि नभई एकताबद्ध बनाउनका लागि राष्ट्रिय भेला गरिएको बताएका हुन् । उनले कम्युनिष्ट आन्दोलनको रक्षा गरि नयाँ उचाइमा पुर्याउनको लागि रचनात्मक उद्देश्यका साथ राष्ट्रिय भेला गरिएको दाबी गरे । उनले भने –‘हामीले जुन बाटो समातेका छौँ । जुन हिसाबले अगाडि बढ्न खोजिरहेका छौँ। त्यो ध्वंस गर्नका लागि होइन । निर्माण गर्नका लागि हो । पार्टीलाई एकताबद्ध बनाउनका लागि हो । कम्युनिष्ट आन्दोलनको रक्षा गर्नका लागि हो । कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनका लागि हो । त्यस हुनाले यो कार्यकर्ता भेला सकारात्मक, रचनात्मक उदेश्यका साथ आयोजना गरिएको हो।’
नेता नेपालले नेकपा (एमाले) भित्रको विवादको जड अध्यक्ष केपी शर्मा ओली भएको दाबी गरे। केपी ओलीको अहंकार, व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण एमालेमा विवादको सिर्जना भएको उनको भनाइ थियो । अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रसँग एकिकरण गर्ने बेला जनताको बहुदलीय जनवादलाई कुनै अडान नलिइ हटाएको भएपनि जबजको हिमायतीको रुपमा प्रस्तुत गरिरहेको उनले बताए। ओलीले मदन भण्डारीको बिरासत बोकेको भनि नक्कली कुरा गरेकाले भ्रममा नपर्न पनि उनले नेता कार्यकर्तालाई आग्रह गरे।
नेता नेपालले प्रधानमन्त्री ओलीले विदेशीहरुको सेवा मात्रै गरेको आरोप पनि लगाए। ओलीले पार्टीको लोकप्रियतालाई आफ्नो मात्रै लोकप्रियता ठान्ने गरेको पनि उनको भनाइ छ । ओलीमा नेकपा (एमाले) को नेतृत्वमा आएपछि र माओवादीसँग एकिकरण भएपछि पनि सुरु देखिनै गुटगत प्रवृति मात्रै भएको उनले बताए।
नेता नेपालले आफूहरुको लडाइँ पदको निम्ति नभएर नीति र सिद्धान्तको लडाइँ भएको जिकिर गरे। आफूहरुको लडाइँ कस्तो पार्टी बनाउने भन्ने विषयमा रहेको भन्दै इमान्दारिताको अग्निपरीक्षा उत्र्तीण गर्न तयार रहेको पनि बताए ।
प्रधानमन्त्री ओलीले आधा आधा समय सरकार चलाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति गरेर सहमतिको उल्लंघन गरेको नेता नेपालको भनाइ छ । सर्वोच्च अदालतको फैसलापछि नेकपा (एमाले) लाई पूर्ववत् संगठनात्मक संरचना र वैचारिक, राजनीतिक मान्यता अनुरुप चलाउनु पर्नेमा नेता नेपालको जोड छ।





























प्रतिक्रिया