कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न कांग्रेसको माग

कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न कांग्रेसको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसले नेपालको संविधान, कानूनी व्यवस्था र चुनावमा जनतासामु गरिएको प्रतिबद्धता अनुसार कोभिड–१९ संक्रमणको परीक्षण र उपचारको दायित्वबाट वर्तमान सरकार पन्छिन नमिल्ने जनाएको छ ।

कांग्रेस केन्द्रीय संगठन विभागले मंगलबार विज्ञप्तिमार्फत नेपालको संविधानले स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकका रुपमा व्यवस्था गरेको, जनस्वास्थ्य ऐनले सरुवा रोगको निःशुल्क उपचार गर्ने व्यवस्था गरेको तथा सर्वोच्च अदालतले आधारभूत स्वास्थ्य नागरिकको मौलिक हक भनेको कुरा स्मरण गराएको छ ।

सरकारले कोरोनाका बिरामीको उपचार खर्च सरकारले नव्यहोरी जनता आफैंले बेहोर्नुपर्ने भनी गरेको निर्णयप्रति विभागले आपत्ति प्रकट गरेको छ । तत्कालीन बाम गठबन्धन (नेकपा एमाले र माओवादी केन्द्र) को चुनावी घोषणापत्रमा पनि सबै नागरिकलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने लेखिएको स्मरण गराउँदै विभाग प्रमुख गोपालमान श्रेष्ठले जनभावना अनुसार तुरुन्त उक्त निर्णय सच्याउन सरकारसँग माग गरेका छन् ।

उनले आवश्यक मात्रामा क्वारेन्टिन, आइसोलेशन, आइसियु, भेन्टिलेटर, रेमडिसिभर औषधि लगायत व्यवस्था गरी कोरोना संक्रमणबाट जनताको जीवन रक्षा गर्नु सरकारको दायित्व भएको उल्लेख गरेका छन् ।

Logo