नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्नकै लागि नहतारिएको बताएका छन् । तर जिम्मेवारी आए पछि नहट्ने पनि उनले प्रष्ट पारेका छन्।
स्व.गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति दिवसको अवसरमा चितवनमा आज कांग्रेस केन्द्रीय तरुण विभागले आयोजना गरेको युवा तरुण जागरण अभियानलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्।
देउवाले जनता नै सबैभन्दा ठूला मालिक भएका र सम्पूर्ण फैसलाको अधिकार पनि उनीहरूसँगै भएको पनि स्पष्ट पारेका छन् । त्यसका लागि पार्टीको आन्तरिक मतभेदलाई त्यागेर कार्यकर्ताहरूलाई अघि बढ्न पनि सुझाएका छन् । अबको चुनावमा मिलेर गएमा कांग्रेसलाई दुईतिहाई ल्याउन कसैले रोक्न नसक्ने पनि देउवाले दाबी गरे ।
यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले सरकारको नेतृत्वमा अरुलाई अघि बढाएर भएपनि ओलीको विकल्प खोज्नु पर्ने बताएका छन्।
शनिबार नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति सभामा बोल्दै वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसले अरु राजनीतिक पार्टीलाई सरकारको नेतृत्वमा अघि सारेर भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा जानुपर्ने बताएका हुन्। राजनीतिक अन्यौलता भएको भन्दै उनले अन्यौलतालाई अन्त्य गर्न नेपाली कांग्रेसले सबै पार्टीलाई समायोजन गर्ने हैसियत राख्नु पर्ने बताए। नेतृत्वले निर्णय लिन नसकेको भन्दै उनले पार्टी नेतृत्व किंकर्तव्यविमुढ भएर बस्ने बेला नभएको धारणा राखे।
नेपाली कांग्रेसका कतिपय नेताहरुले चुनावको पक्षमा बोल्ने गरेको भन्दै उनले नेपाली कांग्रेसले चुनावको पक्षमा वकालत गर्न नहुने बताए। संसदमा भएका शक्तिहरुलाई समायोजन गरेरै विकल्प दिनुपर्नेमा उनको जोड छ।
वरिष्ठ नेता पौडेलले लोकतन्त्र पक्षधरहरुको सरकार दिनुपर्ने बताए। संविधान बचाउने सरकार ल्याउन र व्यवस्था बचाउने शक्ति यही संसदभित्र निर्माण गर्न नेपाली कांग्रेसले कुशलता देखाउनु पर्ने उनको भनाइ छ।





























प्रतिक्रिया