केन्द्रबिन्दु बुलेटिन : ओलीसँग कुनै किसिमको सम्झौता हुँदैन-माधव नेपाल (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : ओलीसँग कुनै किसिमको सम्झौता हुँदैन-माधव नेपाल (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष ओलीसँग आत्मसमर्पण नगर्ने बताएका छन्। मंगलबार नेपाल पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएर आत्मसमर्पण नगर्ने बताएका हुन् । अध्यक्ष ओलीले अब पार्टी छोड्दा पनि फरक नपर्ने उनको तर्क छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा मंगलबार अर्थात् आजबाट त्रिदेशिय प्रतियोगिता सुरु भएको छ। प्रतियोगिता राउण्ड रोबिनको आधारमा सञ्चालन गरिएको एन्फाले जनाएको छ। प्रतियोगितामा आजको उद्घाटन खेलमा बंगलादेश र किर्गिस्तानले प्रतिस्पर्धा गरेका छन् भने, चैत १४ गते नेपालले बंगलादेशसँग खेल्नेछ। फुटबलसम्बन्धी अर्को प्रसंगमा नेपाली राष्ट्रिय टिमका चार खेलाडी आबद्द मासा युनाईटेडले पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा फराकिलो जीत निकालेको छ। मंगलबार भएको खेलमा मासा युनाईटेडले कराँची वुमन्सलाई ३५–० गोल अन्तरले पराजित गरेको हो। 

पर्यटक भिसामा नेपाल प्रवेश गरेका करीब डेढ सय विदेशी नागरिकलाई देशबाट निष्कासन गरिएको छ। अध्यागमन विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा अर्थात गत साउनदेखि फागुन मसान्तसम्ममा १ सय ३६ जना विदेशी नागरिकलाई निष्कासन गरिएको हो। निष्कासित हुनेमा ओभरस्टे, विदेशी मुद्रा अपचलन, बैंकिङ कसूर, लागूऔषध लगायत कसूरका धेरै रहेका छन्। 

भन्सार विभागको पछिल्लो ८ महिनाको तथ्यांकले व्यापारघाटा उच्च भएको देखाएको छ। भारतसहित तेस्रो मुलुकबाट आयात हुने वस्तुका कारण व्यापारघाटा बढ्दै गएको हो। यो अवधिमा भारतसँग मात्रै ६ खर्ब ६४ अर्ब १० करोड रुपैयाँ बराबरको व्यापारघाटा भएको तथ्यांकले देखाएको छ।

जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो पार्टीका नेता, कार्यकर्ताको रिहाइका लागि गृहकार्य सकारात्मक रुपमा अगाडि बढेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै वरिष्ठ नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा मुद्दा मामिलाको सन्दर्भमा गृहकार्य सकारात्मक रुपमा अगाडि बढेको बताएका हुन् । त्यस्तै एमालेका उपनेता सुवासचन्द्र नेम्वाङले उनीहरुको रिहाइका लागि कुनै पनि शर्त नरहेको दाबी गरेका छन्।

Logo