पूर्वप्रधानन्यायाधीश एवं संविधानविद्हरुले न्यायाधीशहरुको भूमिकाका कारण स्वतन्त्र न्यायपालिकामाथि प्रश्न उठेको बताएका छन् ।
बुधबार काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश, संविधानविद् तथा वरिष्ठ अधिवक्ताहरुले न्यायाधीशहरुको प्रवृत्ति र भूमिकाका कारण स्वतन्त्र न्यायापालिकाको क्षमतामाथि आशंका बढ्दै गएको बताएका हुन् । समयमा मुद्दाको फैसाला गर्न नसक्ने, नियुक्तिमा भागबण्डा खोज्ने, राजनीतिक दलहरुको पक्ष–विपक्षमा लाग्ने प्रवृत्ति कतिपय न्यायाधीशमा देखिएको वक्ताहले बताए । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले न्यायाधीशहरु स्वतन्त्र हन्छन् भनिए पनि कतिपय न्यायाधीशहरुले जानीजानी परतन्त्रबाट प्रभावित हुने गरेको आरोप लगाइन् ।
न्यायाधीशहरुमा बिदा माग्ने र बाहिर गएर षडयन्त्र गर्ने प्रवृत्ति रहेको पनि कार्कीको दाबी छ । यस्तै न्यायाधीशहरुमा प्रधानन्यायाधीशलाई सहयोग नगर्ने प्रवृति रहेको उनले बताइन् । स्वतन्त्र न्यायपालिका भनिए पनि आफैं परतन्त्र हुन जाने र नेताका बैठकमा गई सल्लाह गरेर अदालत चलाउन जाने प्रवृति रहेको उनले जिकिर गरिन् । त्यसबाट संवैधानिक इजलास प्रभावित हुने गरेको उनको भनाइ छ । न्यायाधीशहरुले आफ्नो मानसम्मानमा बसेर न्यायपालिकालाई स्वतन्त्र रुपमा काम गर्न दिनुपर्ने पनि कार्कीले बताइन् ।
संविधानविद् भीमार्जुन आचार्यले संवैधानिक इजालासले आफ्नो गरिमा र औचित्यलाई कहीँ कतै पनि प्रदर्शन गर्न नसकेको धारणा व्यक्त गरे । संवैधानिक इजलासमा रहेका कतिपय संवेदनशील मुद्दाहरु लामो समयसम्म पनि सो–कज हुन नसक्नु यसैको उदाहरण भएको उनले बताए ।
संविधानविद टिकाराम भट्टराईले अदालतबाट हुने फैसलाका कारण श्रद्धाले न्यायाधीशहरुको अगाडि शिर झुकाउने ठाउँ नै नरहेको बताए । प्रधानन्यायाधीशले गलत गर्यो भनेर परेका मुद्दामा सो–कज नै नहुने प्रवृति रहेको भन्दै त्यसलाई सच्याउन आग्रह गरे ।





























प्रतिक्रिया