केन्द्रबिन्दु बुलेटिन : प्रचण्डको निवेदन सर्वोच्चद्वारा अस्वीकार (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : प्रचण्डको निवेदन सर्वोच्चद्वारा अस्वीकार (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये सर्वोच्च अदालतले नेकपाको नाम सम्बन्धी विवादमा गरेको फैसला पुनरावलोकन नगर्ने भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्गलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता बदर गर्ने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावलोकन निवेदन दिएका थिए। सोही निवदेनमाथि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको पूर्ण इजलासले आज पुनरावलोकन नगर्ने आदेश दिएको हो।

कोरोना महामारी तथा अन्य चुनौतीका कारण सन् २०३० सम्म भोकमरी शून्यमा झार्ने भनी दिगो विकास लक्ष्य अनुरुप अन्तर्राष्ट्रिय समुदायले लिएको लक्ष्य प्राप्तिमा ढिलाइ हुने भएको छ । ११३ देशहरुको तथ्यांकहरु मूल्यांकन गरी विश्वव्यापी भोकमरी सूचांक (जिएचआइ) ले संयुक्त राष्ट्रसङ्घका विभिन्न एजेन्सीद्वारा उपलब्ध गराइएका तथ्याङ्कहरूमा आधारित रहेर तयार गरेको सन् २०२० को प्रतिवेदनले यो तथ्य औंल्याएको हो ।

संसदको सार्वजनिक लेखा समितिले काठमाडौं–तराई फास्ट ट्र्याकको सुरुङ र पुल निर्माण सम्बन्धी दुई प्याकेजमध्ये दोस्रो प्याकेजको प्रि–क्वालिफिकेसन प्रक्रिया रद्द गर्न नेपाली सेनालाई निर्देशन दिएको छ। बिहीबार सिंहदरबारमा बसेको बैठकले फास्ट ट्र्याकको दुईवटा प्याकेजको टेण्डर आह्वानका लागि प्रि–क्वालिफिकेसनको नतिजा निकालिएको मध्ये दोस्रो प्याकेजमा प्रतिस्पर्धा हुने नदेखिएकाले रद्द गरी पुनः प्रि–क्वालिफिकेसन प्रक्रिया सुरु गर्न निर्देशन दिएको हो।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा(माओवादी केन्द्र) र जसपाका कारण नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुन नसकेको बताएका छन् । बिहीबार समसामयिक राजनीतिक घटनाक्रमको सम्बन्धमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता शर्माले नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता नगरेको अवस्था र जसपा वर्तमान सरकारलाई विस्थापन गर्ने विषयमा ठोस निर्णयका साथ नआएको कारण नयाँ सरकार गठनको प्रक्रिया आरम्भ हुन नसकेको बताएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुको गुणस्तरलाई माथि उकास्नुपर्ने बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत छनोटमा परेका विद्यालयहरुको विवरण प्रस्तुत गर्ने कार्यक्रममा प्रधानमन्त्री ओलीले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुको गुणस्तरमा ध्यान पुर्याउनुपर्ने बताएका हुन्।

Logo