श्रमिकहरुको राप्रपामा आकर्षण बढ्दो

श्रमिकहरुको राप्रपामा आकर्षण बढ्दो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा श्रमिकहरुको आकर्षण बढ्दै गएको छ । यातायात क्षेत्रमा कार्यरत आधा दर्जन ट्याक्सी चालकहरु आइतबार राप्रपामा प्रवेश गरेका हुन् । नव प्रवेशी यातायात श्रमिकहरुलाई ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का अध्यक्ष हिक्मत जंग भण्डारी र वरिष्ठ उपाध्यक्ष बालकुमार श्रेष्ठले एक कार्यक्रमका बीच पार्टीको सदस्यता प्रदान गरी स्वागत गरेका थिए ।

सो कार्यक्रममा राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले राप्रपा केन्द्रीय कार्य समिति सदस्यमा मनोनित भएका महासंघका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान समेत गरेको थियो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय सदस्य एवं टुकोनका अध्यक्ष भण्डारीले टुकोनसँग आवद्ध पदाधिकारी एवं सदस्यहरु उल्लेख्य संख्यामा पार्टीको केन्द्रीय समितिमा प्रतिनिधित्व हुनु गौरवको विषय भएकोले नव समाहित केन्द्रीय सदस्यहरुले पार्टीको नीति र सिद्धान्तप्रति प्रतिवद्ध भएर पार्टीलाई अग्रणी शक्ति बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए । राप्रपा केन्द्रीय कार्यालय धुम्बारहीको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा राप्रपाको विस्तारित केन्द्रीय कार्य समितिमा पर्ने केन्द्रीय सदस्यहरुलाई टुकोनका अध्यक्ष भण्डारीले खादा लगाएर सम्मान गरेका थिए ।

हालै भएको पार्टीको केन्द्रीय कार्य समिति विस्तारमा टुकोनका तर्फबाट वरिष्ठ सल्लाहकार सुवर्ण वैद्य, वरिष्ठ उपाध्यक्ष बालकुमार श्रेष्ठ, उपाध्यक्ष प्रवल नरसिंह राणा, उपमहासचिब आनन्दकुमार रिसाल, सचिव शुशिला गिरी, वित्तिय विभाग प्रमुख पद्मराज खनिया, केन्द्रीय सदस्यहरु राजकुमार खड्का, सन्तोषी शाही ठकुरी तथा सुदूरपश्चिम प्रदेशका प्रमुख छत्र शाहीलाई समावेश गरिएको थियो । कार्यक्रममा टुकोनद्वारा प्रकाशित परिश्रम त्रैमासिक पत्रिकाको दोस्रो अंक सार्वजनिक समेत गरिएको थियो ।

Logo