वैकल्पिक सरकार कांंग्रेसको नेतृत्वमा बन्ने अवस्था छ : सह-महामन्त्री महत

वैकल्पिक सरकार कांंग्रेसको नेतृत्वमा बन्ने अवस्था छ : सह-महामन्त्री महत

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि परामर्श गरिरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सोमबार प्रतिनिधिसभामा पेश गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको कांंग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गरेको हो। यसका लागि दलहरुसँग छलफल चलिरहेको र नेकपा (माओवादी केन्द्र)ले कांग्रेसलाई सहयोग गर्ने निर्णय गरिसकेको सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए। 

उनले अलमलमा रहेको जनता समाजवादी पार्टीलाई पनि वर्तमान सरकारबाट मुलुकलाई पुग्ने क्षतिबाट देश र जनतालाई बचाउनका लागि प्रधानमन्त्री ओलीको विपक्षमा उभिन आग्रह गरे। आइतबार आफ्नै निवासमा संचारकर्मीसँग कुरा गर्दै नेता महतले नेपाली कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार गठन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन्। उनले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सके कोभिड १९ रोकथाम तथा नियन्त्रण गरि, मुलुकलाई भ्रष्टाचार मुक्त बनाई आउँदो निर्वाचनलाई निष्पक्ष र स्वतन्त्ररुपमा सम्पन्न हुन सक्ने दाबी गरे।

उनले भने, “नेपाली कांग्रेस सरकारको नेतृत्वमा जान हतारिएको थिएन। हामीले ५ वर्षपछि अर्को निर्वाचनबाट नै जनादेश लिएर सरकारमा जाने हाम्रो लक्ष्य थियो। तर ५ वर्षका लागि निर्वाचित भनेर आएको ओली जीको सरकार अन्त्यन्तै गैरजिम्मेबार ठहरियो। भ्रष्टाचारको कोणबाट, कोभिड व्यवस्थापनको कोणबाट, लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर गर्ने कोणबाट। सबै कोणबाट जनताविरोधी देखिए। त्यसैले हाम्रो संसदमा संख्या कम भएपनि अरु यस्तै सोच राख्ने दलहरु मिलेर वर्तमान सरकारको विकल्प दिउँ भनेर हामीले त्यो पहल गर्ने निर्णय गरेको हो। यसैबीच प्रधानमन्त्रीले आफैं विश्वासको मत लिन्छु भनेर अग्रसर हुनुभएको छ। यो विश्वासको मतमा ओली जीलाई असफल पार्ने भन्ने हाम्रो पार्टीको निष्कर्ष छ। त्यसमा विभिन्न दलका नेताहरुसँग छलफल जारी छ। त्यसमा नेकपा (माओवादी केन्द्र)ले विश्वासको मतलाई असफल पार्ने कार्यमा नेपाली कांग्रेसलाई साथ दिने निर्णय गरिसकेको छ। जसपा अलि अलमलमा छ। कुराकानी भइरहेको छ। उहाँहरुले पनि देशको परिस्थितिलाई ध्यानमा राखेर साथ दिनु भयो भने यो सफल हुन्छ । त्यसो भएको खण्डमा वैकल्पिक सरकार नेपाली कांंग्रेसको नेतृत्वमा बन्ने अवस्था आउँछ।”

नेता महतले वर्तमान अवस्थामा देश कोभिड संक्रमणको गम्भीर चरणबाट गुज्रिरहेको र सरकार कोभिड नियन्त्रण तथा रोकथाममा पूर्ण रुपमा असफल भएको आरोप लगाए। उनले कोभिड १९ संक्रमण र रोकथामको विषय जटिल देखिएको, अक्सिजनमा कालोबजारी, वेड अभाव लगायत समस्या भएका कुराहरु मुलुकभरबाट आइरहँदा पनि सरकार पुरै असंवेदनशील र अर्कमण्य भएको टिप्पणी गरे। यस्तो भयावह अवस्थामा पनि प्रधानमन्त्री ओलीले नेपालमा कोभिड संक्रमण नियन्त्रणमा नै छ भनेर विश्वसामु झुट बोलेको टिप्पणी गरे।

उनले संक्रमितको प्रभावकारी ढंगले उपचारको व्यवस्था गर्न  तथा आवश्यक मात्रामा अक्सिजनको सुनिश्चिता गर्न सरकारसँग माग गरे। उनले महामारी नियन्त्रणका लागि सरकारले चालेका हर कदमलाई नेपाली कांग्रेसले साथ दिने बताए।

Logo