राष्ट्रियसभा सदस्य उपनिर्वाचन: मतदाताका लागि पिसिआर रिपोर्ट अनिवार्य

राष्ट्रियसभा सदस्य उपनिर्वाचन: मतदाताका लागि पिसिआर रिपोर्ट अनिवार्य

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने बताएको छ।

कोभिड १९ संक्रमणको जोखिम बढिरहेका बेला हुन लागेको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनलाई स्वास्थ्यका दृष्टिकोणबाट पनि सुरक्षित बनाउन आयोग स्वयंले पनि स्वास्थ्य सुरक्षा मापदण्ड जारी गरेको छ। निर्वाचन आयोगले मतदान स्थलमा रहने सबै व्यक्तिले स्वास्थ्य सुरक्षा मापदण्डको घेरामा रहेर काम गर्न उपनिर्वाचन स्वास्थ्य सुरक्षा मापदण्ड २०७८ लागू गरेको छ। 

आयोगका सह प्रवक्ता कोमलप्रसाद धमलाले निर्वाचनको दिन मतदानस्थल र मतदान केन्द्रमा प्रवेश गर्ने सबैले ७२ घण्टा अवधिभित्रको कोभिड १९ संक्रमण भए÷नभएको पिसिआर रिपोर्ट ल्याउनु पर्ने अनिवार्य गरिएको बताए।

यस्तै मतदान केन्द्रमा ३ वटा बुथ राखिने भएको छ। यसअघि दुईवटा बुथ मात्रै राखिन्थ्यो। कोभिड १९ संक्रमित मतदाता पनि हुनसक्ने अनुमानका साथ ३ वटा बुथ राख्ने व्यवस्था मिलाइएको हो। मतभारको हिसाबले प्रदेशसभा सदस्यको बुथ र स्थानीय सरकार प्रमुख, उपप्रमुखको बुथको साथै कोभिड १९ संक्रमित भएका मतदातालाई छुट्टै बुथको व्यवस्था गरिने सहप्रवक्ता धमलाले जानकारी दिए।

मतदानको दिन मतदान केन्द्रमा खटिने सबै कर्मचारी, सुरक्षाकर्मी तथा स्वयंसेवकले पिपिई लगाएर कार्यसम्पादन गर्ने व्यवस्था मिलाइने सहप्रवक्ता धमलाले जानकारी दिए। मतदान अधिकृतले एक मतदान केन्द्रमा २५ जनाले मतदान गरेपछि मतदान कक्षमा रहेका सम्पूर्ण सामाग्रीहरु निसंक्रमण गराउने छन्। आगामी जेठ ६ र जेठ १७ गते राष्ट्रियसभा सदस्य पदको लागि उपनिर्वाचन हुनेछ। बागमती प्रदेशमा अन्य समूहबाट १ पदको लागि र लुम्बिनी प्रदेशमा पनि अन्य समूहबाट १ पदको लागि उपनिर्वाचन गर्न लागिएको हो।

वाग्मति प्रदेशमा जेठ ६ गते र लुम्बिनी प्रदेशमा जेठ १७ गते  उपनिर्वाचन हुँदैछ। वाग्मति प्रदेशमा ३ सय ४८ जना कुल मतदातामा १ सय १० जना प्रदेशसभा सदस्य र २ सय ३८ स्थानीय प्रतिनिधिहरु छन्। त्यसैगरी, लुम्बिनी प्रदेशमा २ सय ९६ कुल मतदाता छन्। ७९ प्रदेशसभा सदस्य र २ सय १७ स्थानीय प्रतिनिधिहरु छन्।

Logo