सहमतिको मिलनविन्दु खोजिरहेको एमालेको एकतामा फेरि संकट

सहमतिको मिलनविन्दु खोजिरहेको एमालेको एकतामा फेरि संकट

केन्द्रबिन्दु
0
Shares

चुनावी सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले) एकता नहुँदै फेरि विभाजनको डिलमा पुगेको छ।

बागमती प्रदेशमा बिहीबार राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचन र शुक्रबार संसदीय दलका नेतासमेत रहेका पार्टी अध्यक्ष केपी ओलीभन्दा पनि कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा नेता माधवकुमार नेपालपक्षीय २६ सांसद उभिएपछि एमाले विभाजनको डिलमा पुगेको हो।

पार्टीका स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ नेतृत्वको कार्यदलले २०७५ जेठ २ को सेरोफेरोमा रहेर पार्टीलाई अगाडि बढाउन सहमतिको मिलनविन्दु खोजिरहेका बेला पार्टी एकतामा फेरि संकट उत्पन्न भएको हो।

यससँगै कार्यदललाई सहमतिको विन्दु पहिल्याउन पनि समस्या पर्ने भएको कार्यदलमा रहेका एक ओली निकट नेताले बताए।

‘पार्टीलाई एकताबद्ध बनाउन लागिएको बेला राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई मत नदिने र आफ्नै पार्टीका अध्यक्षलाईसमेत क्रस गरेर विपक्षी दलका नेतालाई हस्ताक्षर गर्दै समर्थन दिइन्छ भने त्यो भन्दा ठूलो राजनीतिक बेइमानी के हुन सक्ला?’ ती कार्यदल सदस्यले केन्द्रविन्दुसँग भने, ‘पार्टी एकता प्रक्रियामा फेरि समस्या पैदा भयो।’

२७ वैशाखमा संसदमा विश्वासको मत लिन नसक्दा स्वतः पदमुक्त भएपछि ओलीले ३० वैशाखमा नेता नेपालसहित उनी पक्षका नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको ६ महिने निलम्वन फुकुवाको निर्णय स्थायी कमिटी बैठकमार्फत् गराएका थिए।

निलम्वन फुकुवा गर्नुको पछि दुईवटा कारण थियो। 

पहिलो–३१ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमतीय सरकार गठनका लागि दलहरूलाई समयसीमा दिएकी थिइन्। उक्त संवैधानिक आधारअनुसार सरकार गठनका लागि नेपालपक्षीय सांसदहरूले क्रस गरेर विपक्षी दलका नेता देउवाको पक्षमा नउभिउन्।

दोस्रो–माओवादी केन्द्र परित्याग गर्दा पदमुक्त भएका रामबहादुर थापालाई बागमती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन गराई निर्वाचित गराउने।

यी दुई राजनीतिक लाभका लागि ओलीले निलम्वन फुकुवा गरेका थिए। लगत्तै २०७५ जेठ २ को सेरोफेरोदेखि पार्टी संरचनालाई अगाडि बढाउने गरिको सहमति पहिल्याउन कार्यदल गठन गराएका थिए।

तर, बिहीबार र शुक्रबारको राजनीतिक घटनाले कार्यदल सहमति पहिल्याउने कार्य जिम्मेवारीबाट पञ्छिने देखिएको छ। 

त्यसको संकेत शुक्रबारको कार्यदल बैठकमा देखिएको छ। कार्यदल सदस्यसमेत रहेका पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बिहीबार नै नेता माधवपक्षीय सांसदहरूलाई लक्षित गर्दै राजनीतिक अपराध गरेको कडा टिप्पणी गरेका थिए।

शुक्रबार क्रस गरेर विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि समर्थन दिनुले नै मध्यावधि निर्वाचनतिर जानुपरेको आरोप लगाएका छन्।

माधवपक्षीय सांसद भवानीप्रसाद खापुङले ओली इमान्दारीपूर्वक पार्टी एकता जोगाउन गम्भीर नभएकाले क्रस गर्नु परेको बताएका छन्। उनले पार्टीबाट किनारा लगाउन ओलीले बारम्बार प्रयास गरेको समेत बताए।

यसरी एमाले एकता उन्मुख एक साता पनि हुन सकेन। यसैबीच पार्टी अध्यक्ष ओलीले माधवपक्षमाथि फेरि गम्भीर राजनीतिक कदम चाल्ने चेतावनी दिइसकेका छन्।

Logo