तत्कालका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको पद जोगियो

तत्कालका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको पद जोगियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कर्णाली प्रदेशमा आइतबारदेखि सतहमा आएको विवाद मिल्ने भएको छ । मंगलबार माधव नेपाल पक्षका प्रदेश सभा सदस्यहरुले अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएपछि कर्णाली प्रदेशको विवाद मिल्ने भएको हो ।

गत आइतबार सत्ताधारी दल नेकपाकै १८ जना प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव प्रदेशको संसदीय दलमा दर्ता गराएका दिए । अविश्वासको प्रस्ताव दर्ता गराउने १८ जनामा पूर्व एमालेका १५ जना र ३ जना पूर्व माओवादी खेमाका सांसद रहेका थिए । अहिले कर्णाली प्रदेशमा ४० जना सदस्य रहेका छन् । जसमध्ये नेकपाका ३३, कांग्रेसका ६ जना र राप्रपका १ जना सदस्य रहेका छन् । नेपालको इतिहासमै मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको यो पहिलो घटना हो ।

नेकपाका केन्द्रीय सदस्य निरज आचार्य नेतृत्वको टोलीले प्रदेशमै पुगेर वरिष्ठ नेपाल निकटका प्रदेश सभा सदस्यहरुलाई अविश्वासको प्रस्तावका लागि गरेको हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए । उनको आग्रहपछि आजको बैठकमा नेपाल निकटका कुनै पनि हस्ताक्षर गर्ने सांसदहरु बैठकमा गएका छैनन् । नेपाल पक्षका सांसदहरु बैठकमा उपस्थित नभएपछि आज दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश संसदीय दलको बैठक अहिलेसम्म बस्न सकेको छैन । अविश्वासको प्रस्ताव दर्ता गराउनेहरुमा १५ जना पूर्व एमालेमध्ये ८ जना माधवकुमार नेपाल पक्षका रहेका छन् भने ७ जना प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेका छन् ।

नेपाल निकट सांसदहरु बैठकमा सहभागी नभएपछि शाही विरुद्धको प्रस्ताव स्वतहः तुहिएको छ । नेपाल निकटका सांसदहरुले अविश्वासको प्रस्तावका लागि गरेको हस्ताक्षर फिर्ता गरेसँगै मुख्यमन्त्री शाहीले केही दिनमै मन्त्रिमण्डल पुनर्गठन गर्ने सहमति भएको स्रोतको दाबी छ । मन्त्रिमण्डल पुनर्गठन गर्दा वरिष्ठ नेता नेपाल समूहलाई तीन वटा मन्त्रालय दिने तयारी भएको स्रोतले जनाएको छ । हस्ताक्षर गरेर बैठकमा नजाने सभासदहरुमा चन्द्रबहादुर शाही, सुशीलकुमार थापा, करवीर शाही, कुर्मराज शाही, अम्मरबहादुर थापा, पदमबहादुर रोकाया, पद्मा खड्का र देवी वली रहेका छन् ।

त्यस्तै अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने नेपाल निकट सांसदहरुले एकाएक नाटकीय रुपमा हस्ताक्षर फिर्ता गरेपछि नेपाल निकट सांसहरुलाई हस्ताक्षरसँग मन्त्री पद साटेको आरोप लागेको छ । अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गरेका कुर्मराज शाहीलाई मुख्यमन्त्री शाहीले सचेतकमा समेत नियुक्त गरी सकेका छन् । मुख्यमन्त्री शाहीले कुर्मराजलाई सचेतकमा नियुक्तगरेसँगै उनी हस्ताक्षर फिर्ता लिएर अविश्वासको प्रस्तावबाट ब्याक भएको नेकपाकै नेताहरुको आरोप छ ।

सोमबार मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाब जंग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट मुक्त गर्दै सचेतक सीताकुमारी नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरेका थिए । सचेतक नेपालीलाइ प्रमुख सचेतकमा नियुक्त गरेपछि रिक्त रहेको सचेतक पदमा कुर्मराज शाहीलाइ मुख्यमन्त्रीले मंगलबार नियुक्त गरेका हुन् ।

आइतबार नेकपाका १८ जना सांसदले पार्टी संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शाही विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वासको प्रस्ताव दर्ता भएसँगै शाही नेतृत्वको सरकार ढल्ने आकलन गरिएको थियो । तर दुई दिनसम्म केन्द्र र प्रदेशमा चलेको रस्साकस्सीपछि मंगलबार वरिष्ठ नेता नेपाल पक्षका ८ जना सांसद हस्ताक्षर फिर्ता लिन सहमत भएका छन् । नेपाल पक्षको बलियो साथ पाएसँगै तत्कालका लागि मुख्यमन्त्री शाहीको पद जोगिने भएको छ ।

Logo