काठमाडौं ।
नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । उनीहरुबीचको आजको भेटमा कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव विषयमा छलफल भएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध आफ्नै दलका १८ सांसदहरुले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेपछि आज दुई अध्यक्षबिच छलफल भएको हो । छलफलमा सो प्रस्ताव फिर्ता गराउन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्डले आग्रह गरेको बताइएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का आफ्नै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
मुख्यमन्त्री शाहीको कार्यशैली खराब रहेको र सरकारको काम समेत प्रभावकारी नभएको आरोप लगाउँदै उनीहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
शाहीलाई संसदीय दलको नेताबाट हटाउन माग गर्दै १८ जनाको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका थिए ।
कर्णाली प्रदेशको प्रदेशसभामा नेकपाबाट ३३ जना सांसद छन् । त्यस मध्ये १८ जनाले नेकपाको संसदीय दलको नेता समेत रहेका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।





























प्रतिक्रिया