एकैपटक गुम्यो २० मन्त्रीको पद, खुम्चिए ओली (भिडियोसहित)

एकैपटक गुम्यो २० मन्त्रीको पद, खुम्चिए ओली (भिडियोसहित)


हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तार कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि २५ सदस्यीय मन्त्रिपरिषद्का २० मन्त्रीहरु एकैपटक बाहिरिएका छन्। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको अवस्थामा प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद विस्तारको निर्णयविरुद्ध दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मंगलबार मन्त्रिपरिषद् विस्तार तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। योसँगै दुवैपटक गरिएको मन्त्रिपरिषद विस्तार सर्वोच्चले बदर गरेको हो। 

पछिल्लो मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्ध सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै नेपाली राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ। सर्वोच्चको निर्णयसँगै २० जना मन्त्रीहरूको पद गुमेको छ भने प्रधानमन्त्री ओली सरकार आफूसहित ५ जना मन्त्रीमा समित बनेका छन्। यस विषयमा विभिन्न दल तथा दलका नेताहरू आफ्ना प्रतिक्रिया दिएका छन्। यस विषयमा सत्तारुढ नेकपा एमालेले अप्रत्यासित निर्णय भएको र यसले राजनीतिक संकट उत्पन्न हुने प्रतिक्रिया दिएको छ भने, कांग्रेसले संविधान र लोकतन्त्रका पक्षमा निर्णय भएको भन्दै यसको स्वागत गरेको छ। 

मंगलबार सर्वोच्च अदालतले कोभिशिल्डको पहिलो डोज खोप लगाएका ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन अन्तरिम आदेश जारी गरेको छ । नेपालका ६५ वर्षमाथिका साढे १३ लाख ज्येष्ठ नागरिकले पहिलो डोज खोप लगाएको १२ हप्ता नाघिसकेपछि सर्वोच्चले यस्तो आदेश दिएको हो। यसैबीच, नेपाल सरकार मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विदेशमा  उत्पादन/अध्ययन/परिक्षण भइरहेको खोपलाई नेपालमा पनि परिक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिएको छ। यो सहमतिसँगै नेपाली जनताले खोप पाउने विषय पनि सहज हुने बताइएको छ । 

नेपाल धितोपत्र बोर्डको विज्ञप्तिपछि लगातार ओरालो लाग्दै आएको सेयरबजारमा मंगलबार उच्च अंकले बढेको छ। मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७९.४३ अंकले बढेर २ हजार ९ सय १३.८४ विन्दुमा उक्लिएको छ। आइतबार र सोमबार नेप्से क्रमशः ६३.११ र ७१.०६ अंकले घटेको थियो। धितोपत्र बोर्डले असार १ गते सेयर मूल्यमा अस्वाभाविक चलखेल भएको भन्दै ५१ कम्पनीको सूची सार्वजनिक गरेपछि नेप्से परिसूचकमा निरन्तर गिरावट हुँदै आएको थियो। त्यो क्रम आज भने रोकिएको छ।

जारी १६ औं संस्करणको युरोकप फुटबलमा गएराति सम्पन्न ४ खेलमा नेदरल्यान्ड्स, अष्ट्रिया, बेल्जियम, र डेनमार्कले सिधै अन्तिम १६ मा स्थान बनाउँन सफल भएका छन् । यस्तै आज मंगलबार राति भने समूह डी का दुई खेल हुँदैछन्। आज हुने खेलमा इंग्ल्यान्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ।

Logo