निर्वाचन आयोगले जसपाको आधिकारिकता इजलासमार्फत टुङ्ग्याउने

निर्वाचन आयोगले जसपाको आधिकारिकता इजलासमार्फत टुङ्ग्याउने

केन्द्रबिन्दु
0
Shares

सत्ता समीकरणका दौरानमा दुई धारमा विभाजित जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्रको विवाद थप चुलिँदै गएको छ। 

पार्टी अध्यक्ष महन्थ ठाकुरले नेतृत्व गरेको समूह र अर्का अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गरेको समूहले निर्वाचन आयोगमा आधिकारिकताका लागि दिएको निवेदनमा केही समयअघि  दुवै समूहलाई आधिकारिकता दिइएको थिएन। 

पछि दुवै समूहले आधिकारिकता दावी गर्दै आयोगलाई थप ध्यानाकर्षण गराएका थिए। जसपाको विवाद निरुपण सन्दर्भमा आयोगले मंगलबार जसपाका यादव र ठाकुर दुवैसहितका नेतालाई बोलाएर छलफल गरेको छ। पार्टीको आधिकारिकता विवाद हल गर्न आयोगले बोलाएको संयुक्त बैठकमा दुवै पक्षका नेता विभाजित हुन सहमत भएका छन्। जसपाको आधिकारिकताबारे आयोग अब एक साताभित्र इजलास गठन गरी कानून व्यवसायीको परामर्श लिएर ठोस निष्कर्षमा पुग्ने छ ।

जसपाका नेता केशव झाका अनुसार आयोगले दुवै पक्षको धारणा लिएको र त्यसमा उनीहरुले भिन्नभिन्न रुपमा पार्टीलाई अघि बढाउने अवधारणाका साथ धारणा व्यक्त गरेका छन्। बैठकमा अध्यक्ष यादवले एउटै पार्टी दुई तरिकाले चल्न नसक्ने जनाउँदै अहिलेको अवस्थामा सँगै बस्ने स्थिति नभएकाले आगामी प्रक्रिया चाँडो टुङ्गो लगाइदिन आयोगलाई आग्रह गरेका थिए।

अर्का अध्यक्ष ठाकुरले पार्टी एकता आफूहरुको कार्यसूची भएको र परिवर्तनकारी शक्ति, उत्पीडित शक्तिका हितमा पार्टीलाई अघि बढाइने भए पनि त्यस किसिमको वातावरण नरहेको जनाउँदै आयोगले पार्टीको आधिकारिकताबारे चाँडो टुङ्गो दिनुपर्ने धारणा राखेका थिए।

Logo