माधव नेपालले ‘दोस्रो अध्यक्ष’ चाहनुको कारण

माधव नेपालले ‘दोस्रो अध्यक्ष’ चाहनुको कारण


वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष पद माग्नुको कारण पार्टी सञ्चालनमा ‘चेक एण्ड ब्यालेन्स’ गर्न भएको उनी निकट नेताहरूले बताएका छन्।

यसअघि त्यसो नभएकैले हालको स्थितिमा पार्टी आइपुगेको स्थायी कमिटी सदस्य श्रीमाया थकाली बताउँछिन्। तर, यसलाई शक्ति बाँडफाँटको रूपमा बुझ्न नहुने उनको भनाइ छ।

‘पार्टी एकता प्रक्रियामा नेताहरू सहमति नजिक आउनु भएको छ, सहमति भएर पार्टी एकता हुनुपर्छ तर दोस्रो अध्यक्ष पद वरिष्ठ नेता नेपाललाई दिनुपर्छ, हिजो नेकपा हुँदा पनि थियो’, उनले केन्द्रविन्दुसँग भनिन्, ‘विधानमा छैन तर पार्टी एकता कायम राख्न त संशोधन गरेरै भएपनि व्यवस्था गर्नुपर्छ र त्यो चाहिँ शक्ति बाँडफाँटका लागि होइन, पार्टी सञ्चालनमा ‘चेक एण्ड ब्यालेन्स’ का लागि हो।’
उनले एक अध्यक्षले पार्टी र एक अध्यक्षले सरकार चलाउँदा हुने पनि बताइन्। त्यसो भएको अवस्थामा पार्टी संगठन र सरकार प्रभावकारी ढंगले सञ्चालन हुने मत राखिन्।

‘नेकपा एकतापछि ३ वर्ष भयो पार्टीको संगठनात्मक संरचना व्यवस्थित छैन, अलिअलि जिम्मेवारी बाँडफाँट हुँदै थियो तर, पार्टीको माथिल्लो संरचना क्रियाशील भयो, तल्लो कमिटी क्रियाशील भएन ’, थकाली भन्छिन्, ‘एक व्यक्ति एक पदमा रहेर त्यो किसिमले चलाए पार्टी संगठन राम्ररी चल्छ र सरकार पनि राम्रो हुन्छ।’

एमाले एकता कायम गर्न भनेर गठित १० सदस्यीय कार्यदलले भने अध्यक्ष पदमा समझदारी जुटाउन नसक्ने जनाएको छ।

कार्यदलले अध्यक्ष केपी ओली र नेता नेपालबीच त्यसबारे समझदारी हुनुपर्नेमा जोड दिएको छ। तर, अध्यक्ष ओलीले दोस्रो अध्यक्ष पद दिन अरुची देखएका छन्। नेता नेपाल जसरी पनि हुनुपर्ने बताउँदै आएका छन्।

यही कारण कार्यदलले एकताका लागि गरिएको सहमतिको मस्यौदालाई सार्वजनिक गर्न सकेको छैन। यद्यपि, कार्यदलले सहमतिको मस्यौदालाई आजै सार्वजनिक गर्ने जनाएको छ।

नेपालपक्षीय अर्का स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य पनि दोस्रो अध्यक्ष नेपाललाई नबनाइए ओली एक्लौटी र स्वेच्छाचारी ढंगले अगाडि बढ्न सक्ने बताउँछिन्।

‘उहाँ (अध्यक्ष ओली) त सच्चिनु भएको छैन नि, त्यसैले उहाँ त भोलि पेलेर एक्लौटी जानु पर्ने अवस्था हुन्छ’ शाक्य भन्छिन्, ‘नेता नेपाललाई स–सम्मान एउटा पद त दिनुपर्छ।’

नेपाल पक्षले पहिले पार्टीलाई २ जेठ २०७५ अगाडिबाट बढाउनुपर्ने माग गरेका थिए। अध्यक्ष ओली अन्ततः उक्त मितिबाट पार्टी संरचनालाई क्रियाशील बनाएर अगाडि जान तयार भएपछि फेरि नेपालले अध्यक्ष पदमा मागेका हुन्।

एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानमा दुई अध्यात्मक प्रणाली छैन। तैपनि विधानविपरीत दोस्रो अध्यक्ष पदमा नेपालले मागेका हुन्।

ओली निकट स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले भने विधानविपरीत पद सिर्जना गर्न नसकिने स्पष्ट पारेका छन्। उनले मिल्न चाहेको भए मिल्नुपर्ने, नमिल्ने हो भने त्यसबारे पनि प्रष्ट भन्नुपर्ने बताए।

हाल एमाले मिल्ने दिशामा अघि बढेको छ। विभाजनको डिलबाट फर्केर एकताको मिलनविन्दु खोज्ने काम भएको छ।

Logo