नेकपा (एमाले)का नेता तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था राख्नुपर्ने बताएका छन्।
आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले प्रतिनिधिसभा र राष्ट्रिय सभाबीचको विभेद हटाउनका लागि संविधान संशोधन गरेर भएपनि राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउन सकिने व्यवस्था राख्नुपर्ने बताएका हुन् ।
उनले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट राष्ट्रिय सभामा पेश गर्नुपर्ने पनि बताए। नियमावली परिवर्तन गरेर भएपनि बजेट राष्ट्रिय सभाबाट पारित गर्नुपर्ने व्यवस्था राख्नु पर्नेमा उनले जोड दिए। राष्ट्रिय सभालाई बजेट बारे छलफल तथा विचार, विमर्श गर्ने अधिकार भएको उनले बताए।
राष्ट्रिय सभा सदस्य गौतमले सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गराएर नेकपा(माओवादी केन्द्र) र नेकपा(एमाले) व्युँतिएको अवस्थामा आफूले नेकपा(एमाले) रोजेर बैठकमा समेत उपस्थिति भएको पनि बताए । पार्टी अध्यक्ष ओलीले ०७५ साल जेठ २ गतेको अवस्थामा केन्द्रीय कमिटीको बैठक बोलाएपछि आफू बैठकमा सहभागी भएको स्पष्ट पारे । वामदेव केपी ओलीतर्फ गएको भन्ने हल्ला भएको भन्दै उनले आफू केपी ओलीतिर नभई एमाले भएको प्रमाण पेश गर्न बैठकमा गएको बताए।
राष्ट्रिय सभा सदस्य गौतमले सत्तारुढ नेकपा (एमाले)ले गरेको अराजनीतिक क्रियाकलाप, संविधान र ऐन, नियमहरु कुल्चने क्रियाकलापले नेपाली जनताको शिर निहुराउने अवस्था सिर्जना गरेको टिप्पणी पनि गरे।





























प्रतिक्रिया