एकता प्रस्ताव अनुमोदन गर्न ओलीले बोलाए ‘स्थायी कमिटी बैठक’

एकता प्रस्ताव अनुमोदन गर्न ओलीले बोलाए ‘स्थायी कमिटी बैठक’

केन्द्रबिन्दु
0
Shares

पार्टीको आन्तरिक एकतासम्बन्धी प्रस्तावलाई अनुमोदन गर्न एमाले अध्यक्ष केपी ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्।

बैठक आज ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले केन्द्रविन्दुलाई जानकारी दिए।

उनका अनुसार १० सदस्यीय कार्यदलले तयार गरेको उक्त प्रस्तावलाई बैठकले अनुमोदन गर्नेछ। एकता प्रस्तावमा के–के छन्? त्यो भने खुलाइएको छैन।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष ओली पार्टीको संरचनालाई २ जेठ २०७५ अगाडिको संरचनाबाट अगाडि बढाउन तयार भएपछि दोस्रो अध्यक्ष पद मागेका छन्।

जुन पद विधानमा छैन। विधानमै नभएको पद मागिएपछि कार्यदलले ओली र नेपालबीच नै छलफल हुनुपर्ने जनाएको थियो। कार्यदलले गत सोमबारदेखि पार्टी एकता कायम राख्न भनेर एकताको मिलनविन्दुको खोजी गरिरहेको छ।

ओली पक्षबाट कार्यदल संयोजक रहेका नेता सुवासचन्द्र नेम्बाङले आज बिहान ८ बजेसम्ममा सुखद् खबर आउने बताएका थिए। ढिला गरि भएपनि एकतासम्बन्धी प्रस्ताव स्थायी कमिटी बैठकबाट अनुमोदन भएर एमाले एकता कायम भए एमालेजनमा खुसीयाली छाउने छ।

एमाले एकता भए देउवा–प्रचण्डलाई तनाव

२८ असार अर्थात् भोलिसम्म जुनसुकै हालतमा नेता नेपाल ओलीसँग नमिलुन् भन्ने चाहना कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छ।
त्यही भएर शनिबार बिहान पनि प्रचण्डले नेता नेपाललाई कोटेश्वरस्थित निवासमै गएर तत्काल नमिल्न आग्रह गरेको सार्वजनिक भएको थियो। 

किनभने भोलिसम्ममा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट फैसला आउने सम्भावना छ। फैसला आउनु अघिसम्म एक ठाउँमै रहनुपर्ने देउवा–प्रचण्डको जोड छ। त्यसो भएको अवस्थामा सर्वोच्चले संविधानको धारा ७६ (५) अनुसारको सरकारको प्रधानमन्त्री देउवालाई नियुक्तिका लागि परमादेश दिने अनुमान उनीहरूको छ।

नेपाल पक्षका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि हस्ताक्षरसहितको समर्थन दिएका छन्। उक्त हस्ताक्षर फिर्ता हुनुपर्नेमा ओलीको नेपालमाथि दबाब छ। तर, नेपालले मानिरहेका छैनन्।

Logo