अन्ततः संसद् पुनर्स्थापना, देउवा पाँचौं पटक प्रधानमन्त्री बन्दै (भिडियोसहित)

अन्ततः संसद् पुनर्स्थापना, देउवा पाँचौं पटक प्रधानमन्त्री बन्दै (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटन बदर गरेको छ। यो सँगै २८ घन्टाभित्रमा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेको छ । संवैधानिक इजलासले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा भङ्ग गर्ने कदम मिलेको नदेखिएको ठहर गर्दै त्यससम्बन्धी सबै निर्णय उत्प्रेषणका आधारमा बदर गरिदिएको फैसला गरेको हो। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा पुनस्र्थापित गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक फैसला भनी स्वागत गरेको छ । सर्वोच्चको फैसला पश्चात एक विज्ञप्ति निकाल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले निष्पक्ष र धम्कीसँग नडराउने अदालतले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचाएको बताएका छन्। यस्तै पार्टीले सर्वोच्चको आदेशलाई नेपाली जनताको ऐतिहासिक जीतको रुपमा, लोकतन्त्रको जीतको रुपमा नेपालको संविधानको जीतको रुपमा र यो जीतलाई जनताको हितमा प्रयोग गर्ने ऐतिहासिक अभिभाराको रुपमा लिने प्रतिक्रिया दिए। 

अमेरिकाले नेपाल सरकारलाई कोभिड–१९ विरुद्धको १५ लाखभन्दा बढी मात्रा खोप अनुदान सहयोग दिएको छ । सो अनुदान सहयोगमा आएको १५ लाख ३४ हजार ८५० खोप सोमबार विहान नेपाल लाइएको छ। उक्त खोप अमेरिकी जनताको तर्फबाट उपहारस्वरुप दिइएको अमेरिकी राजदूत र्याण्डी बेरीको भनाइ छ। प्राप्त भएको खोप प्राथमिकताको आधारमा जोखिम समुहलाई दिनेगरी छिट्टै खोप अभियान सञ्चालन गरिने सरकारले जनाएको छ। 

प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्बोच्चको निर्णयप्रति सत्तारुढ एमालेको असन्तुष्टि जनाएको छ। नेताहरूले अहिलेको फैसला गलत भएको र यो संविधानको मर्म र भावना विपरीत भएको टिप्पणी गरेका छन्। यद्यपि, नेकपा एमाले संविधान, लोकतान्त्रिक मूल्य र मान्यता मान्ने शक्ति भएकाले अदालतको फैसला मान्ने एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको प्रतिक्रिया छ। यता, फैसलासँग असन्तुष्ट  एमालेका युवा नेता महेश बस्नेतले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई राजनीतिको मैदानमा आउन चुनौती दिएका छन्। 

एसियाली खेलकुदको कुम्भमेला ‘साग’को १४ औं संस्करण पाकिस्तानमा सन् २०२३ मार्चमा हुने भएको छ । साउथ एसियन ओलम्पिक काउन्सिलको सोमबार बसेको भर्चुअल बैठकले १४ औं साग पाकिस्तानमा गर्ने निर्णय गरेको हो। पाकिस्तानले दुई वर्ष अघि नै सन् २०२१ मा आयोजना गर्ने गरी नेपालबाट साग आयोजना अधिकारको झण्डा लगेको थियो तर, विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारी बढेसँगै साग पनि मिति तय नहुँदै अनिश्चित बनेको थियो।

Logo