तल्लो तहको अधिवेशन सार्ने कांग्रेसको तयारी, केन्द्रीय महाधिवेशनको मिति यथावत

तल्लो तहको अधिवेशन सार्ने कांग्रेसको तयारी, केन्द्रीय महाधिवेशनको मिति यथावत

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यता छानबिन निष्पक्ष ढंगले गर्न दवाबस्वरुप अनसन बस्दै आएका पार्टीका नेता, कार्यकर्ताको माग तत्काल सुनुवाई गर्न क्रियाशील सदस्यता छानबिन समितिलाई निर्देशन दिएका छन्।

बुढानिलकण्ठस्थित आफ्नै निवासमा शुक्रबार बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले धाँधलीरहित ढंगले पार्टीको क्रियाशील सदस्यता छानबिन गर्न दवाब दिँदै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिँदै आएका नेता, कार्यकर्ताहरुको माग आज दिनभरमा सुनुवाई गरि भोलि बिहान बस्ने पदाधिकारी बैठकमा पेश गर्न छानबिन समितिलाई सचेत गराएका हुन्। 

निष्पक्ष ढंगले पार्टीको क्रियाशील सदस्यता छानबिनबारे माग राख्दै पार्टी कार्यालयमा धर्ना दिँदै आएका नेता, कार्यकर्ताहरुको माग आज दिनभर सुनुवाई गरि भोलि बिहान पुनः बस्ने पदाधिकारी बैठकमा पेश गर्न सभापति देउवाले छानबिन समितिलाई निर्देशन दिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। 

बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले साउन १० गते आइतबार आफ्नो समितिको प्रतिवेदन पार्टीलाई बुझाउने तयारी गरिएको जानकारीसमेत गराएका थिए । कांग्रेसले भोलि बिहान बोलाउने पदाधिकारी बैठकमा आसन्न १४ औं महाधिवेशनका लागि साउन १२ गतेदेखि सुरु गर्ने भनिएको पार्टीको तल्लो तहको अधिवेशन सार्ने गरि मिति तय गर्ने पनि जनाएको छ। 

क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदनसमेत नआएकाले सो सम्बन्धि मिति तय गर्ने विषयमा पनि भोलि बोलाइएको पदाधिकारी बैठकमा छलफल हुने निर्णय गरिएको प्रवक्ता शर्माले बताए। 

बैठकमा केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि मात्रै तल्लो तहको अधिवेशन सुरु गर्न सकिने भएकाले त्यसको मिति सार्न पदाधिकारी बैठकमा प्रस्ताव राखेका थिए।

Logo