निर्वाचन आयोगले आज जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता सम्बन्धी विवाद टुंगो लगाउँदैछ। त्यसका लागि आयोगले आजै पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई बोलाएर सनाखत गराउँदैछ।
बिहान ११ बजे उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यहरुलाई बोलाएर आयोगले सनाखत गराउन लागेको हो।
जसपामा केन्द्रीय कार्यकारिणी समिति ५१ सदस्यीय समिति छ । तीमध्ये आफूहरुको पक्षमा ३३ बढी सदस्य रहेको यादव पक्षको दाबी छ।
यादव पक्षले बोलाएको कार्यकारिणी सदस्य बैठकमा पनि बहुमत सदस्य उपस्थित भएका कारण उनीहरुले ३३ बढी सांसद आफूसँग रहेको दाबी गरेका हुन्।
त्यही आधारमा पनि जसपाको आधिकारिकता कार्यकारिणी समिति सदस्यहरुको बहुमत भएका कारण उपेन्द्र यादव पक्षले पाउने निश्चित देखिएको छ।
जसपाको आधिकारिकता विवाद समाधान गर्न आयोगले यस अघिनै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ।
सो इजलासले केन्द्रीय कार्यकारिणी सदस्य स्वयं उपस्थित भई सनाखत गर्नुपर्ने देखिएको भन्दै साउन ११ गते बिहान ११ बजे आयोगमा उपस्थित हुन साउन ७ गते आदेश दिएको थियो।
त्यस आदेशलाई रोक्न ठाकुर पक्षले निर्वाचन आयोग र अर्का अध्यक्ष यादवलाई विपक्षी बनाएर साउन ८ गते सर्वोच्च अदालतमा रिटसमेत दायर गरेका थिए । तर सर्वोच्चले उक्त रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।





























प्रतिक्रिया