नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष दिन नसकिने बताएका छन्।
महासचिव पोखरेलले नेपाल पक्षले सञ्चार माध्यममार्फत् राखेका ती प्रस्ताव पार्टीको विधि र विधानभन्दा फरक ढंगले आएको उल्लेख गर्दै दोस्रो अध्यक्ष स्वीकार गर्न नसकिने बताएका हुन्।
शुक्रबार थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित साउन १५ को खीर खाने कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले कार्यदलले सहमति जुटाएर पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेको १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा आफूहरुको जोड रहेको पनि स्पष्ट पारे।
‘पार्टीको विधि र विधानभन्दा फरक ढंगले हुन सक्दैन। पार्टी महाधिवेशनले पारित गरेको विधान छ, नियमावली छ। हामी २०७५ साल जेठ २ गते अघि जाने कुरा गरिरहेका छौं। त्यसमा जाँदा त्यसबेलाको विद्यमान विधान र नियमावलीमा के छ? त्यसले अनुमति दिने, त्यसले स्वीकार गर्ने, त्यसमा व्यवस्था भएका कुराहरुलाई नै पालना गर्नु नि, सबैले।’
तथापि माधव नेपाललाई दोस्रो अध्यक्ष दिने प्रस्ताव भने अध्यक्ष ओलीले नै राखेका हुन्। माधव पक्ष भने दोस्रो अध्यक्ष लिन तयार छैन, उनले समान हैसियत पावर शेयरिङ मागेका हुन्।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टी अध्यक्ष केपी ओलीले नै पार्टीमा एकता कायम गर्न दोस्रो अध्यक्षको प्रस्ताव राख्नु भएको बताएका थिए।
‘एकताका लागि हदैसम्म लचकतासाथ प्रस्तुत हुने र पार्टीलाई एक ढिक्का बनाउने उद्देश्यअनुरुप अध्यक्षले उक्त प्रस्ताव राख्नुभएको हो,’ भट्टराईले केन्द्रबिन्दुसँग भने, यता, एमालेको नवौं महाधिवेशनद्वारा पारित विधानमा एकल अध्यक्ष रहने व्यवस्था छ।
त्यस्तै महासचिव ईश्वर पोखरेलले माधव नेपाल पक्षबाट दैनिकजसो विभिन्न प्रस्ताव आउने गरेको बताएका छन्।
पोखरेलले ती प्रस्तावबारे आफूले बुझ्न नसकेको पनि बताए । उनले पार्टीभित्र देखिएको विग्रहकारी स्थितिको अन्त्य छिटो हुनुपर्नेमा पनि जोड दिए।
त्यसका लागि जिम्मेवारीपूर्वक भूमिका खेल्न महासचिव पोखरेलको नेपाल पक्षसँग आग्रह छ। महासचिव पोखरेलले पार्टी एकताको विषयलाई टुंग्याएर पार्टीको महाधिवेशनको तयारीको कामलाई अघि बढाउन लागिएको जानकारीसमेत दिए।





























प्रतिक्रिया