नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवाको कार्यशैलीका कारण जनताले गीत लेख्न थालेको बताएका छन्।
‘जनताले गीत लेखिसके–भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी, टालिदेऊ सुरुङका प्वाल, बन्द गर ओली याद आउने सबै चिजहरु’, ओलीले देउवाप्रति कटाक्ष गर्दै भने।
ओलीले यी गीतका हरफहरू एमालेको ११ औँ केन्द्रीय कमिटी बैठकलाई सोमबार च्यासलमा सम्बोधनका क्रममा राखेका हुन्।
उनले एमालेलाई गाली बर्साउँदै आएको नीति तथा कार्यक्रमले देश बनाउने भन्दा भत्काउने योजना राखेको टिप्पणी गरे।
ओलीले कांग्रेस नेतृत्वको गठबन्धन सरकारले ल्याएको न्यूनतम साझा नीति तथा कार्यक्रम माथि पनि अनेक प्रश्न उठाएका छन्।
‘गठबन्धन सरकारले ल्याएको साझा नीति कार्यक्रमको मूल प्रस्तावना नै हामीमाथिको गालीबाट सुरु भएको छ’, उनले भने, ‘त्यो हामीमाथिको आक्रमण हो। हामीमाथि गम्भीर लाञ्छना लगाउने काम त्यो कार्यक्रमबाट भएको छ।’
त्यस्तै ओलीले देउवा नेतृत्वको सरकार आफूहरूमाथि गाली गलोजमा उत्रिएको पनि बताएका छन्।
‘यो सरकार अहिले हामीलाई गर्नु गाली गरिसकेपछि, तथानाम भनिसकेपछि मेलमिलापको कुरा गरिरहेको छ। हामीमाथि प्रतिगामी, प्रतिक्रियावादी, अलोकतान्त्रिक तानाशाह भनिसकेपछि गठबन्धन सकार अपवित्र संस्कृतिको विकास गर्न लागेको छ।’
ओलीले देउवा नेतृत्वको सरकारले निर्दलीय अभ्यास गरिरहेको पनि आरोप लगाए। उनले भने,‘यस्तो अपवित्र गठबन्धनले देश बनाउने होइन, भत्काउने काम गर्छ।’
बैठकमा सम्बोधन गर्दै ओलीले देशलाई विकासमा अघि बढाउने भनेको गठबन्धन सरकार एक महिनासम्म विस्तार हुन नसकेकोमा पनि कटाक्ष गरे।
‘अहिले देख्नु भयो होला नि! विभिन्न दलको तानातानमा एक महिना खेर फालियो’, उनले भने, ‘उहाँहरुले जनताका लागि केही नयाँ गर्ने होइन, के भत्काउने भनेर काम सुरु भएको छ।’
यता माधव नेपालको सवालमा भने ओलीले माधव नेपालबाट यसपटक भएको गल्ति सानो तिनो नरहेको भन्दै अझै पनि आफूले माफी दिएको बताए।
विपक्षी पार्टीलाई प्रधानमन्त्री बनाउन फ्लोर क्रस गर्ने कुरा सामान्य अपराध नभएको ओलीको भनाइ छ।
ओलीले माधव नेपाल पक्षले उल्टै केपी ओलीलाई सच्चिने अन्तिम मौका भनेर फरमान जारी गरेको भन्दै अब सह्य नहुने बताए ।
ओलीले भने–केपी ओलीलाई सच्चिने अन्तिम मौका छ,माफी माग भनेछन् । मैले दाम चढाएर उनले जस्तो वरिपरि घुमेर माफी माग्नु पर्ने रे ।





























प्रतिक्रिया