केपी ओली पार्टी एकताको पक्षमा छैनन्ः माधव नेपाल(भिडियोसहित)

केपी ओली पार्टी एकताको पक्षमा छैनन्ः माधव नेपाल(भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी गम्भीर मोडमा उभिएको बताएका छन्। नेता नेपालले एमालेमा आफू र ओलीको झगडा मात्रै नठान्न पनि आग्रह गरेका छन् । आफू पक्षीय बागमती प्रदेश सम्पर्क संगठन कमिटीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न चाहेको आरोपसमेत लगाएका छन्।

सरकार गठनको एक महिना सम्मपनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको तीब्र आलोचना भइरहेको छ। न्युनतम गर्नै पर्ने मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्ष एमालेले पनि विरोध गर्ने मौका पाएको छ। विश्लेषकहरूले मन्त्रिपरिषद् विस्तारमा सकस पर्नुमा मन्त्रालय भागबन्डा, मन्त्री आकांक्षी व्यवस्थापन र गठबन्धन सहयात्री दल माओवादी केन्द्र हाबी हुनु लगायत हुन सक्ने विश्लेषकहरूको भनाइ छ।

नेकपा (माओवादी केन्द्र) भित्र आगामी पुसको दोस्रो साता पार्टीको राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश गरिएको छ । अध्यक्ष पुष्पकमल दाहालले शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय कार्य समिति बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा आगामी पुस ११, १२ र १३ गते पार्टीको राष्ट्रिय अधिवेशन गर्ने प्रस्ताव उल्लेख गरिएको हो। बैठकमा अध्यक्ष दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमा प्रतिगमनप्रतिको खतरा अझै टरिनसकेको भन्दै सचेत रहन पार्टी पंक्तिलाई आह्वानसमेत गरिएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेसँगै विभिन्न निकायबाट प्रतिक्रिया आइरहेको छ। जस अन्तर्गत साना किसानलाई राहत प्याकेजको छुट्टै व्यवस्था हुन नसकेको भन्दै पूर्वगभर्नरहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले मौद्रिक नीतिले कोभिड संकटलाई सम्बोधन गर्ने प्रयास गरेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा लैजान सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन्।

अमेरिकी र अन्य विदेशी सेनाहरूले २० वर्षको सैनिक कारबाहीपछि आफ्ना फौजहरू फिर्ता गरेपछि आफगानिस्तानमा यतिबेला तालिबानहरूले आफ्नो नियन्त्रण विस्तार गर्दै गइरहेका छन्। पछिल्लो अवस्था हेर्दा तालिवान विद्रोहीले आगामी ७२ घण्टाभित्रै अफगानिस्तानको राजधानी काबुललाई नियन्त्रणमा लिन सक्ने अनुमान अमेरिकी गुप्तचर निकायले जनाएको छ। बिद्रोहि समूहको दवदवा बढ्दै गएपछि, विभिन्न मूलुकका दूतावासहरूले  आ–आफ्ना नागरिक  तथा कर्मचारीहरू फिर्ताको घोषणा गरेका छन्।

आजको कोरोना अपडेट

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३२० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८० हजार ८१५ पुगेको छ। नेपालमा आज २ हजार ६२४ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ६७७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ४०५ रहेको छ। 

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ३० हजार ४७९ जना र एन्टीजेन परीक्षणबाट ७४ हजार ७११ जना पुगेको छ। आज २० जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको छ। आज १३ हजार ५७३ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३७ लाख ४९ हजार ४८४ जनाको पिसिआर र ३ लाख ९१ हजार ९३५ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo