संसदीय समितिले अलपत्र परेका बसेका विद्यार्थीहरुलाई पुनः अध्ययनका लागि तत्काल चीन जाने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले कोरोना भाइरसका कारण चीनबाट फर्किएर अलपत्र अवस्थामा बसेका विद्यार्थीहरुलाई तत्काल कूटनीतिक पहल गरी पुनः अध्ययनको लागि चीन पठाउने आवश्यक व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।
परराष्ट्र मन्त्रालयसँग आवश्यक समन्वय गरेर कूटनीतिक पहल गरी अलपत्र परेका हजारौं विद्यार्थीहरुलाई पुनः अध्ययनका लागि चीन पठाउने व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति जयपुरी घर्तीमगरले जानकारी दिइन्।
घर्तीले भनिन्,‘परराष्ट्र मन्त्रालय यसबारे कूटनीतिक पहल गरेर विद्यार्थीहरुलाई पढन पठाउने व्यवस्था शिक्षा मन्त्रालयले गरोस् । परराष्ट्र मन्त्रालयसँग संयोजन गरेर त्यो अगाडि बढाओस् । हजारौं विद्यार्थीहरु अलपत्र परेका छन् । उनीहरुको भविष्य डामाडोल भएको छ ।’
समितिका सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले ३ दिनभित्र चीन अध्ययनका लागि पुनः जाने व्यवस्था विद्यार्थीहरुलाई मिलाउन सरकारलाई दवावसमेत दिए।
समितिका अर्का सदस्य मानबहादुर विश्वकर्माले मेडिकल तथा इन्जिनियरिङ कलेजका विद्यार्थीहरुको प्रेक्टिकल अनलाईन कक्षाबाट हुने व्यवस्था खारेज गर्न सरकारसँग माग गरेका छन्।
उनले अनलाईन कक्षाबाट हुने प्रेक्टिकलले दक्ष जनशक्ति निर्माण नहुने भएकाले सरकारले त्यस विषयलाई गम्भिरतापूर्वक लिनुपर्ने आवश्यक्ता पनि औंल्याए।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालले संसदीय समितिले दिएको निर्देशनअनुसार चीनमा अध्ययनका लागि पुनः जाने विद्यार्थीहरुको आवश्यक व्यवस्था तत्काल मिलाउने प्रतिवद्धता जनाए ।
लम्सालले हाल चीनमा मात्रै अध्ययन गर्ने जाने विद्यार्थीहरुको संख्या ७ हजार ४८० जना रहेको पनि जानकारी समितिलाई गराए।





























प्रतिक्रिया