नेकपा एमालेको वडा अधिवेशन सुरु भएको छ । जिल्लाका ७५ वटै वडामा वडा अधिवेशन सुरु भएको नेकपा एमाले जिल्ला कमिटी सचिव शंकर कटवालले जानकारी दिए ।
जिल्लाका सबै ७५ वडामा नेकपा एमालेको प्रथम विधान महाधिवेशनबाट पारित विधान अनुसार अधिवेशन सम्पन्न हुने कटवालले बताए । ‘सकेसम्म सबै वडामा सर्वसम्मत नेतृत्व चयन गर्ने, असम्भव भएमा स्वस्थ लोकतान्त्रिक पद्धति अपनाइनेछ’ उनले भने ।
कतिपय वडामा यसअघि निर्माण गरिएको अधिवेशन आयोजक कमिटीलाई नै अनुमोदन हुने र कतिपयमा हेरफेर हुने एमालेले जनाएको छ । एमालेको वडा तहमा नेतृत्व चयनमा खास मतभेद देखिएको छैन । पालिका तथा जिल्ला स्तरमा भने गुटगत रूपमा विभाजन हुने देखिएको छ ।
एमालेका सबै वडा र स्थानीय कमिटी सर्वसम्म बनाउन र गुटगत रूपमा काखा र पाखा नगर्न नेताहरूलाई निर्देशन दिइएको एमाले केन्द्रीय सदस्य तथा सांसद यज्ञराज सुनुवारले बताए । उनले पार्टी बनाउने सन्दर्भमा अनुचित खालको गुटलाई निषेध गरिने उनको भनाइ छ ।
नेकपाकालीन द्वन्द्व जिल्ला तथा पालिकामा रहे पनि वडा तहमा भने विवाद सहता आउने गरी देखिएको छैन । पालिका तथा जिल्लामा नेताहरूबिच गुटगत विभाजन र गुटबन्दी चर्को रूपमा देखिएको छ ।
वडामा सहमति, पालिका र जिल्लामा गुटबन्दी
पालिका तथा जिल्ला तहमा भने एमालेमा ओली समूह र १० बुँदे पक्षधर समूह सक्रिय छ । ओलीभित्र पनि खास गरी ईश्वर पोखरेल नजिक रहने नेताहरूले गुट निर्माण गरेका छन् ।
त्यसको नेतृत्व किशोर अधिकारी, नानीबाबु बुढाथोकी, अम्बीरबाबु गुरुङ, शकुन्तला राजभण्डारी, तीर्थ सुवेदी लगायतले गरेका छन् । यो समूहमा माओवादीबाट प्रवेश गरेका बालकृष्ण ढुंगेल, सुरेश थापा, अशोक थापा लगायतका जिल्ला तहका नेताहरू पनि छन् ।
१० बुँदे पक्षधरहरूको नेतृत्व यज्ञराज सुनुवारले गरेका छन् । यो समूहमा नेताहरू हर्कबोल राई, मणिराज राई हरिकुमार राई, गोविन्द पौडेल, सुनिल खड्कालगायत छन् ।
ओली पक्षीय समूहमा भने चर्को विवाद छ । प्रदेश सांसद अम्बीरबाबु गुरुङ, नानीबाबु बुढाथोकी, बालकृष्ण ढुंगेल, तीर्थ सुवेदीलगायतको एक र केन्द्रीय सदस्य किशोर अधिकारी, मोहन श्रेष्ठ, सीताराम गुरुङ लगायतको अर्को उप समूह छ ।
यो विवादमा खेलेर १० बुँदे पक्षधर नेताहरूले राजनीतिक संस्कार भएका नेताहरूको मजबुत समूह निर्माण गर्न खोजेको एक जिल्ला नेताले बताए । उनले भने, ‘अब एमालेमा राजनीतिक र गैर राजनीतिक समूहको धुव्रिकरण हुन्छ, गैर राजनीतिक समूह क्षणिक लाभहानीमा लागेकाले दीर्घकाल टिक्दैन ।’
एमालेमा माओवादीबाट प्रवेश गरेका र व्यापार व्यवसायबाट राजनीतिमा आएकाहरूलाई ‘राजनीतिक संस्कार’ नभएका भनेर मतदाता, कार्यकर्ताहरूले आलोचना गर्ने गरेका छन् । कार्यकर्ताहरूमाथि गरिने व्यवहारका आधारमा नेताहरूको वर्गीकरण मतदाता तथा कार्यकर्ता तहबाटै हुने गरेको छ ।





























प्रतिक्रिया