स्थानीय तहको निर्वाचन मिति तत्काल घाेषणा गर्न सरकारसँग माग

स्थानीय तहको निर्वाचन मिति तत्काल घाेषणा गर्न सरकारसँग माग


स्थानीय तह सरकारसँग सम्बन्धित तीनवटा संस्थाले तत्काल स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेको छ। 

गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले सोमबार विज्ञप्ति निकालेर ७ असोज २०७९ देखि स्थानीय तहमा नेतृत्व नरहने भएकाले तत्काल अद्यावधिक निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेको हो । 

‘स्थानीय तहको निर्वाचन ऐन, २०७३ बमोजिम तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको अवधि क्रमश: ७ असार २०७९, २१ असार र ७ असोजमा सकिने भएकोले दोस्रो कार्यकालको लागि तत्काल निर्वाचन प्रक्रिया सुरु गर्न नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गर्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ। 

गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठ, नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याजु श्रेष्ठ र जिल्ला समन्वय समिति महासंघका अध्यक्ष नवराज गेलालले संयुक्त रुपमा जारी गरेको विज्ञप्ति :

महासंघ स्थानीय तहको निर्वाचन प्रकृया तत्काल शुरु गर्ने सम्बन्धमा संघ/महासंको ध्यानाकर्षण नेपालको संबिधान बमोजिम पुनर्संरचित स्थानीय तहको निर्वाचन भएको पाँच वर्षको कार्यकाल समाप्त हुँदैछ । स्थानीय तहको निर्वाचन ऐन, २०७३ बमोजिम तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको अवधि क्रमश २०७९ जेठ ७, असार २१ र असोज ७ गते सकिने भएकोले दोश्रो कार्यकालको लागि तत्काल निर्वाचन प्रकृया शुरु गर्न नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गर्दछौं ।

संविधान र स्थानीय तह निर्वाचन ऐनले एक दिन पनि जनप्रतिनिधिविहिन स्थानीय तहको परिकल्पना गरेको छैन र स्थानीय तहको कार्यभार प्रदेश वा संघीय सरकारले सञ्चालन र व्यवस्थापन गर्ने पनि व्यवस्था गरेको छैन । संविधानले नै जनप्रतिनिधि बिनाको स्थानीय सभा र कार्यपालिकाको व्यवस्था गरेको छैन र म्याद थपको पनि व्यवस्था गरेको छैन । कथमकदाचित समयमा नै निर्वाचन भएन भने संबैधानिक संकट आउने छ जसले गर्दा वार्षिक नीति तथा कार्यक्रम र बजेट स्वीकृत गर्ने स्थानीय सञ्चित कोष व्यवस्थापन, बजेट खर्चको अख्तियारी दिने, कानुन निर्माण प्रकृया, योजना तर्जुमा, कार्यान्वयन र अनुगमन प्रणाली नै अवरुद्ध हुनेछ ।

त्यसैगरी प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष र वडाध्यक्षले गर्दै आइरहेका सिफारिस लगायतका अन्य कार्यहरु नहुँदा सेवा प्रवाह पनि अवरुद्ध हुनेछ जसको परिणाम लोकतन्त्र र संघीय शासन प्रणाली प्रति नै जनमानसमा नकारात्मक प्रभाव पर्न सक्ने तर्फ सबैको ध्यान जानु पर्दछ। आवधिक निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । आवधिक रुपमा निर्वाचन गर्न नसक्दा विगतमा १५ वर्ष स्थानीय निकाय जनप्रतिनिधि विहिन भएसँगै स्थानीय लोकतन्त्रको संस्थागत विकासमा २०५९–२०७४ अत्यन्त प्रतिकुल रहेको यथार्थताकोसमेत यहाँ पुनः स्मरण गराउन चाहान्छौं । स्थानीय सरकारका हामी सबै जनप्रतिनिधिहरु समयमा नै आवधिक निर्वाचन सम्पन्न होस् र एक दिन पनि स्थानीय सरकार जनप्रतिनिधिविहिन नहोस् भन्ने चाहन्छौं ।

संविधान र विद्यमान कानुन अनुसार स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र अनिवार्यरुपमा गरिसक्नु पर्नेछ र निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले कम्तिमा १२० दिनको समय चाहिने बताईरहेको सन्दर्भमा तत्काल निर्वाचन मिति घोषणा गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्दछौं । संघीय प्रणालीमा तहगत सरकारमा जनप्रतिनिधिवेगरको कार्यकारी निकाय कल्पना नै गर्न सकिँदैन र स्थानीय तहको कार्यकारी निकाय अविच्छिन्न उत्तराधिकारवाला संस्था भएकोले संबैधानिक संकट आउने तर्फसमेत ध्यानाकर्षण गराउँदछौं। संबिधानको कार्यान्वयन र संघीयताको संस्थागत विकासका लागि तोकिएको समयमा नै आवधिक निर्वाचन गर्नुको बिकल्प नभएकोले निर्वाचनको वातावरण सृजना गर्न निर्वाचन आयोग र सबै राजनीतिक दलहरुकोसमेत गम्भिर ध्यानाकर्षण गर्दछौं।

Logo