सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस

सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस भएको छ । ओलीले कानुन व्यवसायीमाथि जथाभावी बोलेको र अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको भन्दै कारबाहीको मागसहित आइतबार वरिष्ठ अधिवक्ता कुमार शर्माले निवेदन पेस गरेका हुन् ।

प्रधानमन्त्री ओलीले केही दिन अघि ‘बाजे वकिल’ भनी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि व्यंग्य गरेका थिए । सोही विषयमा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस भएको हो ।

यता, नेपाल बार एसोसिएसनले कानुन व्यवसायीहरू र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका अभिव्यक्तिलाई लिएर खेद व्यक्त गर्दै सार्वजनिक रूपमा माफी माग्न माग गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल बारले प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिले कानुन व्यवसायीहरुको अपमान भएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले माघ ९ गते आफू निकट कर्मचारीहरूको भेलामा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्ने कानुन व्यवसायीहरूप्रति लक्षित गरेर अभिव्यक्ति दिएका थिए । उनले वरिष्ठ अधिवक्ता भण्डारीप्रति लक्षित गरेर अपमानजनक भनाइ राखेको नेपाल बारको धारणा छ ।

बारले प्रधानमन्त्री ओलीले उक्त अभिव्यक्तिप्रति तत्काल सार्वजनिक रूपमा माफी माग्न पनि अनुरोध गरेको छ । बारले आइन्दा यस किसिमका अभिव्यक्तिहरू नदोहोर्याउन र दोहोर्याएमा बार एसोसिएसनले सशक्त विरोधका कार्यक्रमहरू गर्न बाध्य हुने चेतावनी दिएको छ । यस्तै आइबार नै ओलीको अभिव्यक्तिलाई लिएर नेपाल बारका चार पूर्वअध्यक्षहरूले विज्ञप्ति जारी गरेर आपत्ति जनाएका छन् ।

Logo