काठमाडौं । सरकारी अस्पतालहरु कोभिड–१९ अस्पतालको रुपमा सञ्चालन भएपछि अन्य रोगका बिरामीहरुको उपचारमा समस्या देखिएको छ । कोभिडका बिरामीहरुको उपचारले सरकारी अस्पतालहरुमा प्राथमिकता पाएसँगै अन्य रोगका बिरामीहरुको उपचारमा समस्या देखिएको हो ।
प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले आइतबार त्रिवि शिक्षण अस्पतालमा गरेको अनुगमनले अन्य रोगका बिरामीहरु उपचार पाउनबाट बञ्चित भएको पाइएको हो । हिजोआज अस्पतालमा कोभिडका लक्षण भएका बिरामीहरुको संख्या बढी भएको त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले जानकारी दिए । जनशक्तिको अभाव र व्यवस्थापकीय कठिनाइका कारण अन्य रोगका बिरामीहरुको उपचारमा समस्या भएको उनको भनाइ छ । लक्षणसहितका बिरामी बढी हुँदा अक्सिजन, भेन्टिलेटर लगायतका अन्य सपोर्टहरु बढी चाहिने गरेको उनले बताए । अहिले संक्रमणको डरलेसमेत अन्य रोगका बिरामीहरु उपचारका लागि कम मात्रामा अस्पताल आउने गरेका छन् । अहिले शिक्षण अस्पतालमा कुनै संक्रमितको मृत्यु भएमा शव व्यवस्थापनमा पनि समस्या भएको उनको भनाइ छ ।
त्यस्तै शिक्षण अस्पतालमा आत्महत्या, दुर्घटनामा निधन भएका लगायत अन्य पोष्टमार्टन गर्नुपर्ने केसहरु समेत आउने गरेका छन् । सरकारी अस्पताल भएपनि गुणस्तरिय सेवा पाइने कारण आम सर्वसाधारणको रोजाइ बन्ने गरेको शिक्षण अस्पतालमा अहिले सेवाग्राहीको संख्या कम हुँदा आयस्रोत पनि खस्किँदै गएको छ । गत महिनासम्म अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई समयमै तलब खुवाइरहेको भएपनि यो महिनादेखि समस्या हुने डा. काफ्लेको भनाइ छ । सरकारले कोभिडको उपचारमा खटिनेहरुलाई दिने भनेको प्रोत्साहन भत्ता पनि अहिलेसम्म स्वास्थ्यकर्मीहरुले पाउन नसकेको उनले बताए ।
त्यस्तैगरी उपसमिति संयोजक जीवनराम श्रेष्ठले अनुगमनका क्रममा कोभिडका कारण अन्य रोगका बिरामीहरुको उपचारमा समस्या भएको जानकारी आफूहरुले पाएको बताए । कोभिड संक्रमित र अन्य बिरामीहरुको एउटै अस्पतालमा उपचार गराउँदा जोखिम अझ बढी हुनेभएकाले उचित व्यवस्थापनका लागि सम्बन्धित पक्षले ध्यान दिनुपर्नेमा उनको जोड छ । विशेष परिस्थितिको व्यवस्थापन गर्दै अस्पतालको आयस्रोत पनि खस्किँदै गएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने उनले बताए । शिक्षण अस्पतालमा अन्य रोगका बिरामीहरुको संख्या न्यून हुँदा मेडिकल शिक्षाका विभिन्न विधा पढ्दै गरेका विद्यार्थीहरुको पढाइमा समेत गम्भीर असर पर्ने देखिएको छ ।





























प्रतिक्रिया