संविधानको रक्षाका लागि गठबन्धन बनाउनुपर्ने बाध्यात्मक स्थिति बन्याे : झलनाथ खनाल

संविधानको रक्षाका लागि गठबन्धन बनाउनुपर्ने बाध्यात्मक स्थिति बन्याे : झलनाथ खनाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्ने बताएका छन् । बुधबार पार्टीले गैर आवासिय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सम्मानित नेता खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्न सक्ने स्थिति रहेको बताए ।

उनले सत्तारुढ दलहरुको पाँच दलिय गठबन्धन बन्ने र विपक्षमा अर्को चार दलिय गठबन्धन बन्नसक्ने बताए । उनले नेपाली जनमत दुईवटा गठबन्धनका बिचमा विभाजित हुने तर्क गरे । 

सम्मानित नेता खनालले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाको निम्ति पाँच दलिय गठबन्धन बनेको उल्लेख गर्दै आगामी दिनमा पनि एकतावद्ध भएर जानका लागि सबैले निर्णय गरिसकेको समेत बताए । 

उनले भने ‘यहाँ गठबन्धन-गठबन्धन बन्ने खालको स्थिति छ । हामी पाँच दलिय गठबन्धनमा छौँ । अब अर्कोपनि गठबन्धन चार दलिय गठबन्धन बन्छ कि । त्यो खालको अवस्था छ र दुईवटा गठबन्धनको बिचमा नेपाली जनमत विभाजित हुने स्थिति छ । हामीले संविधानमाथि, गणतन्त्रमाथि, संसदमाथि जुन खालका खतरा पैदा भए त्यो खतरालाई अहिले हामीले रोकेका छौँ । यो खतराबाट रोकिएको छ । मुलुक अपेक्षाकृत रुपले स्थिरतातर्फ अगाडी बढेको छ । संविधान हामीले बचाउन सकेनौँ भने देशलाई स्थिर ढंगले अगाडी लान सकिदैन । हिजो एक कालखण्डमा के थियो भने राजा रह्यो भने राज स्थिरताको फ्याक्टर हो भन्थे । अब त्यो त उन्मुलन भएर गइसक्यो । अहिले स्थिरताको फ्याक्टर भनेको हाम्रो संविधान हो ।’ 

उनले थपे ‘संविधानको रक्षाका लागि, लोकतन्त्रको रक्षाका लागि र गणतन्त्रको रक्षाका लागि हामीले यो पाँचदलिय गठबन्धन बनाउनुपर्ने एउटा बाध्यात्मक स्थिति खडा भयो । अब पनि यसलाई दृढतापूर्वक एकतावद्ध भएर जाने कुराहरुमा हामी सबैले निर्णय पनि गरिसकेका छौँ ।’

उनले गैर आवासिय नेपाली र नेपाली जनताको बिचमा प्राकृतिक सम्बन्ध रहेको पनि बताए । आगामी दिनमा पनि सो सम्बन्धलाई गहिरो, आत्मिय र घनिष्ठ बनाउनुपर्ने उनले बताए ।
 

Logo