कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको केन्द्रिय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ।
काठमाडौंसहित देशका विभिन्न भागमा रहेका ३५ वटा स्थानबाट नेपाल बार एशोसिएशनको २६ औं केन्द्रिय कार्य समिति चयनका लागि मतदान भइरहेको हो । बारमा अध्यक्षसहित ११ जना पदाधिकारी र सदस्यहरुसहित २५ जनाको कार्य समिति चयन हुनेछ । बिहान ८ बजेबाट मतदान सुरु भएको हो ।
अपरान्ह ४ बजेसम्म मतदान केन्द्रमा प्रवेश गरेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकले जानकारी दिइन् । उनका अनुसार केही स्थानमा भने मतदान सकिएको छ ।
निर्वाचन समितिका अनुसार मतदान सम्पन्न भइसकेपछि देशभरका मतपेटिकाहरु काठमाडौंमा ल्याइनेछ । त्यसपछि मतगणना सुरु हुने हुनाले परिणाम आउन करिव ३ दिन लाग्ने अनुमान गरिएको पनि प्रमुख निर्वाचन अधिकृत पाठकले बताइन् ।
नयाँ कार्य समितिको नेतृत्वको लागि प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूह र पेशागत कानुन व्यवसायी समूह र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुनेछ । सो समूहहरु मध्ये प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्वमा वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन् ।





























प्रतिक्रिया