सत्तारूढ पाँच दलीय गठबन्धनले चितवनका सातै स्थानीय तहमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ। वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनमा चितवनका सात वटै स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत तालमेल गरेर अघि बढ्ने निर्णय गरेका हुन्।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको सत्ता गठन्धनको जिल्ला स्तरीय संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो। चुनावी तालमेलका सन्दर्भमा संयुक्त संयन्त्र समेत गठन गर्ने निर्णय गरेको छ। जसको संयोजक कांग्रेसको पालिका सभापतिले गर्ने निर्णय गरिएको छ।
गठबन्धन सहभागी दलहरूकाबीच गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै संयुक्तरुपमा आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ।
त्यस्तै स्थानीय तह निर्वाचनका लागि केन्द्रीय परिपत्रअनुसार दलगत वस्तुस्थितिको बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट १/१ जना प्रतिनिधि रहने गरी एक कार्यदल गठन गर्ने निर्णयसमेत गरेको छ।
साेमबारकाे बैठकमा कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका इन्चार्ज कृष्णप्रसाद खनाल, जसपा अध्यक्ष प्रेम भुजेल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष डम्बर पुरीले उक्त निर्णयमा हस्ताक्षर गरेका छन्।





























प्रतिक्रिया