१५ दिनभित्र अध्यादेशमार्फत कडा कानुन ल्याइने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणमा संलग्नलाई कडा कारवाही गर्ने कानुनको मस्यौदा १५ दिनभित्र ल्याउने प्रतिवद्धता जनाएका छन् । एसिड आक्रमणबाट पीडित, सरोकारवाला मन्त्रालयका मन्त्री तथा प्रतिनिधिहरुसँग बालुवाटारमा भएको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले आगामी १५ दिनभित्र एसिड आक्रमणमा संलग्नलाई कडा कारवाही गर्ने कानुनको मस्यौदा ल्याउने प्रतिवद्धता जनाएका हुन् । एसिड आक्रमण जस्तो जघन्य अपराधमा संलग्नलाई कारवाही गर्न अहिलेसम्म कडा कानुन नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले १५ दिनभित्र कानुनको मस्यौदा तयार हुने बताए । कोरोना महामारीका कारण संसदबाट कानुन ल्याउन समय लाग्ने भएकाले अध्यादेशमार्फत कानुनको मस्यौदा तयार गरिने उनको भनाइ छ । ‘एसिड आक्रमणबाट अपुरणिय क्षति हुन्छ । त्यसका लागि कडा सजायको व्यवस्थाका लागि संसदले कानुन पारित गर्नुपर्छ’–प्रधानमन्त्री ओलीले भने–‘अहिलेको अवस्थामा सम्भवतः अध्यादेशको बाटोबाट जानुपर्छ होला । कानुन निर्माणका लागि १५ दिनभित्र मस्यौदा तयार गर्ने तयारीमा सरकार जुटेको छ ।’
त्यस्तै प्रधानमन्त्री ओलीले एसिड आक्रमणमा संलग्न व्यक्तिको सम्पत्ति रोक्का गरी उपचार र क्षतिपूर्ति भराउने व्यवस्था कानुनमा हुने समेत बताएका छन् । पीडितका लागि वास्तविक क्षतिपूर्ति भन्ने नभएपनि पीडकबाट औषधिको व्यवस्था लामो समयसम्म गराउने, उपचारको प्रवन्ध मिलाउने गरी उसको सम्पत्ति रोक्का गर्ने र रोक्का गरिएको सम्पत्ति उपचारका लागि प्रयोग गरिने उनले बताए । प्रधानमन्त्री ओलीले आक्रमणमा परेको पीडितलाई तत्काल अस्पताल पु¥याउने प्रवन्ध गर्दा असहयोग गर्नेलाई पनि कारवाहीको भागिदार बनाउने गरी कानुनमा व्यवस्था गरिने बताए । स्वास्थ्योपचारका लागि त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुरस्थित बोन अस्पताललाई डेडिकेटेड युनिट स्थापना गरिने प्रधानमन्त्री ओलीको भनाइ छ ।
त्यस्तैगरी प्रधानमन्त्री ओलीले घटना घटेको अवस्थादेखि सम्पूर्ण उपचार खर्च, नियमित औषधि खर्च, पढ्ने उमेर रहेका र पढ्न चाहने जुनसुकै उमेरकाको पढाई खर्च तथा व्यवसाय तथा रोजगारीको सम्पूर्ण जिम्मा सरकारले लिने घोषणा समेत गरेका छन् । उपचारका लागि ढुक्क हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने–‘उपचारका लागि अब ढुक्क भए हुन्छ । सरकारले घटना घट्ने बेलादेखि अस्पतालको सम्पूर्ण खर्च व्यहोर्छ । औषधि कसरी किन्ने, अस्पतालको खर्च कसरी व्यहोर्ने भन्ने कुरामा अफ्ठ्यारो मान्नुपर्दैन । औषधि किन्ने विल बुझाइदिने वा आइडी कार्ड बनाउने औषधि लिने ठाउँमा आइडी कार्ड दिने आउने । सम्बन्धित औषधि विक्रेताले कार्ड पठाउँछ र विल भुक्तानी लिन्छन् ।’
उनले पढ्ने उमेर पुगेका वा पढ्न इच्छा गर्ने पीडितहरुको पढाइको व्यवस्था पनि सरकारले गर्ने बताए । साथै, प्रधानमन्त्री ओलीले पीडितले आफूले रोजेकै विद्यालयमा अध्ययन गर्न सम्भव नभएपनि सरकारले राम्रो विद्यालयमा अध्ययनको व्यवस्था मिलाउने बताए ।
प्रधानमन्त्री ओलीले पढ्न उमेर नभएका वा इच्छा नभएकाहरुका लागि रोजगारी, व्यवसाय र जीविकाको प्रवन्ध पनि सरकारले गर्ने बताए । रोजगारी गर्नका लागि दक्षता नभएकाहरुलाई तालिम दिएर दक्ष बनाइने उल्लेख गर्दै उनले आफ्नो व्यवसाय सञ्चालन गर्न चाहानेहरुका लागि सरकारले व्यवसायिक तालिम र सहुलियत ऋणको प्रवन्ध मिलाउने जानकारी दिए । अन्तरक्रिया कार्यक्रममा घोषणा गरेका बाहेकका केही कार्यक्रम आगामी सोमबारसम्म मन्त्रिपरिषद्बाट घोषणा हुने समेत उनको भनाइ छ ।
१२ जना एसिड पीडितहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले आफूले घोषणा गरेका कार्यक्रम कार्यान्वयनमा आए भदौ २५ लाई एसिड आक्रमण विरुद्धको जागरण दिवसका रुपमा मनाउने बताए । सम्भव भए सेप्टेम्बर १० लाई एसिड आक्रमण विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा प्रस्ताव अघि बढाउने समेत प्रधानमन्त्रीको भनाइ छ ।
बालुवाटारमा भएको भेटमा गृहमन्त्री रामबहादुर थापा, कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फे, महान्यायाधिवक्ता अग्नि खरेल, शिक्षा, स्वास्थ्य, उद्योग र अर्थ मन्त्रालयका सचिव समेतको उपस्थिति रहेको थियो ।





























प्रतिक्रिया