नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले २०७४ सालको निर्वाचनमा कांग्रेस कमजोर हुँदा स्थानीय तहको विकास प्रभावित भएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा महतले कांग्रेस नेतृत्वको गठबन्धनका पक्षमा निर्वाचनको माहोल बन्दै गएको बताए ।
कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजकसमेत रहेका उनले भने, ‘स्थानीय निकायको संस्थागत स्वःमूल्याङ्कनमा कांग्रेसले सम्हालेका निकाय अब्बल प्रमाणित भएकाले निर्वाचनमा हाम्रा उम्मेदवार विजयी हुनेमा विश्वस्त छौँ ।’
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशभरका ७५३ स्थानीय तहका ३५ हजार २२१ पदमा सत्तारूढ गठबन्धनका तर्फबाट प्रायः उम्मेदवारी परेको छ ।
लोकतन्त्र, गणतन्त्र र संविधानसभाबाट जारी गरिएको सङ्घीयता, समावेशिता र गणतन्त्रसहितको लोकतान्त्रिक संविधानको रक्षाका लागि भन्दै कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाबीच स्थानीय तहको निर्वाचनमा तालमेल गरेर चुनाव लड्ने सहमति भएको छ ।
निर्वाचनमा कांग्रेसका तर्फबाट प्रमुखमा २६२, अध्यक्षमा ३७२, उपप्रमुखमा १९४, उपाध्यक्ष ३४०, वडाअध्यक्ष ६ हजार ४३, महिला सदस्यमा पाँच हजार ९३८, दलित महिला सदस्यमा पाँच हजार ६९१, अन्य सदस्यमा ११ हजार ७८८ गरी जम्मा ३० हजार ६२८ उम्मेदवारी परेको छ ।
कांग्रेसका आधिकारिक उम्मेदवारको विरुद्ध तथा गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिने कांग्रेसका अधिकांशले उम्मेदवारी फिर्ता लिइसकेको जानकारी दिँदै उहाँले फिर्ता नलिनेको हकमा उम्मेदवारसहित निजका प्रस्तावक र समर्थकको पार्टी सदस्यता स्वतः निष्कासन हुने प्रावधान क्रियाशील भएको बताए ।
‘तथापि प्राविधिक कारणले र तालमेलको निर्णय ढिलो भएको कारणले फिर्ता लिन नभ्याउनु भएका तर पार्टीको निर्णय शिरोधार्य गरी पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारको पक्षमा समर्थन गर्दै वक्तव्य जारी गरी चुनावी प्रतिस्पर्धाबाट बाहिरिनेको हकमा यो प्रावधान लागू हुने छैन,’ प्रवक्ता महतले भने ।





























प्रतिक्रिया