काठमाडौं ।
नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सङ्खुवासभा, भोजपुर, तेह्रथुम र धनकुटाका पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पूर्व पदाधिकारी, भ्रातृ तथा शुभेच्छुक संस्थाका सदस्य सहभागी प्रशिक्षण कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।
भर्चुअल माध्यमद्वारा भएको सो प्रशिक्षणको उद्घाटन गर्दै पार्टीका केन्द्रीय उपसभापति एवम् प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले राष्ट्रियता, लोकतन्त्र र समाजवादको आधारमा सबै एक रहेको र तिनै विचारले निर्दिष्ट परिवर्तनका उपलव्धिहरुमा समेत एकता हुन सके पार्टीमा कुनै गुट–उपगुट नरहने विचार व्यक्त गरे।
परिवर्तनको स्वामित्व काँग्रेसले लिएर पार्टीको नेतृत्वमा भएका राजनीतिक परिवर्तनहरुमाथि गौरव गर्दै गर्दा संविधानमा निहीत विषयप्रति असहमति राख्ने दोहोरो कार्यले पार्टीलाई क्षति पुर्याउनेतर्फ सबै सचेत रहनु पर्ने उनको धारणा थियो ।
भोजपुरका सभापति नन्दमणि राईको सभापतित्वमा सम्पन्न पहिलो सत्रमा विसं २०१५ सालका सांसद तेजमान तुम्वाहाम्फे, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की र सीता गुरुड, पूर्वमन्त्रीहरु दीपक खड्का र सुनिलबहादुर थापाले पार्टीलाई प्रशिक्षणमार्फत थप एकताबद्ध र सशक्त वनाउन सकिने विचार व्यक्त गरेका थिए ।
प्रतिष्ठानका सदस्य एवम् पार्टीका आमन्त्रित केन्द्रीय सदस्य मनोहरनारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न दोस्रो सत्रमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्राध्यापक पुरुषोत्तम दाहाल, प्रशिक्षण निर्देशक खिलानाथ दाहाल र प्रतिष्ठान सदस्य एवम् सचिवालय सदस्य राजु नेपालले प्रशिक्षणको उद्देश्य, पार्टीको विधान र वर्तमान सरकारको कार्य समीक्षा प्रस्तुत गरेका थिए। सहभागीले पार्टीको आसन्न महाधिवेशन, विधान कार्यान्वयन, पार्टीले सञ्चालन गर्नुपर्ने कामबारे जिज्ञासा राखेका थिए।





























प्रतिक्रिया