निर्वाचन आचारसंहिता उल्लंघन गर्दै राखिएका झण्डा स्वयं दलले हटाए

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै राखिएका झण्डा स्वयं दलले हटाए

केन्द्रबिन्दु
0
Shares

खोटाङका राजनीतिक दलले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै राखेका झण्डा हटाइएको छ। कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीको गठबन्धन, नेकपा एमाले र राप्रपाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै दिक्तेलबजारमा जताततै राखेका झण्डा स्वयं राजनीतिक दलले हटाएका छन्। 

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै पार्टीका चिन्ह अंकित झण्डा राखेको पाइएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार बिहान १० बजेभित्र पार्टीको झण्डा हटाउन निर्देशन दिएको थियो। तर, केही दिन ढिलागरी दलका कार्यकर्ताले घर, पसल, बिजुलीका पोलमा राखेका आआफ्नो झण्डा निकालेका हुन्।

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा होमिएका राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत मुख्य–मुख्य बजार तथा चोकमा रंगी बिरंगीका पार्टीको झण्डा झुण्ड्याएका थिए। साबिकको सदरमुकाम दिक्तेलबजारका अधिकांश घर, पसल तथा होटेल अगाडि पार्टीको चिन्ह अंकित झण्डा फहराइएको थियो। 

दिक्तेल बजारका कतिपय विद्युतका पोलमा समेत पार्टीका झण्डा झण्डा झुण्ड्याएको देखिएको थियो। बजारका केही ठाउँमा पार्टीको चिन्ह अंकित तोरण समेत टाँगिएको थियो । 

दिक्तेल बाहेक ऐंसेलुखर्क, बाक्सिला, हलेसी, दुर्छिम, खोटाङबजार, चिसापानी, मात्तिम लगायतका प्रमुख केन्द्रहरूमा समेत आचार संहिता उल्लंघन गर्दै पार्टीको चिन्ह अंकित झण्डा राखेको पाइएको छ। तर त्यी स्थानमा राखिएका पार्टीका झण्डा भने हटाइएका छैनन्। 

दिक्तेलमा भन्दा दिक्तेल बाहिर निर्वाचन आचारसंहिता उल्लंघन भइरहेको छ। निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसमा १८ वर्ष उमेर पुरा नभएका बालबालिकाको प्रयोगसमेत भइरहेको देखिएको छ।

Logo