केन्द्रबिन्दु बुलेटिन : वर्तमान व्यवस्था सिध्याउने प्रयासस्वरुप प्रतिनिधिसभा विघटन (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : वर्तमान व्यवस्था सिध्याउने प्रयासस्वरुप प्रतिनिधिसभा विघटन (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये काठमाडौंमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले वर्तमान व्यवस्था सिध्याउने प्रयासस्वरुप प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रधानमन्त्रीले अढाई वर्षमै निर्वाचन गर्ने हुकुमी शासन चलाएको आरोप विडारीको छ । यता, वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले वैशाखमा निर्वाचन नभए प्रधानमन्त्रीको वैधानिकतामाथि नै प्रश्न उठ्ने तथा संविधानले समेत काम नगर्ने बताएका छन् ।

चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा ६ प्रतिशतले वृद्धि भएको भन्सार विभागले जनाएको छ । विभागको तथ्यांक अनुसार यस वर्ष व्यापार घाटामा ५.८० प्रतिशतले सुधार आएको छ भने वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.५८ र निर्यातको हिस्सा ८.४२ प्रतिशत रहेको छ ।

शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडाँमा उपलब्ध स्थायी कमिटी सदस्यहरुबीचको छलफलपछि प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाको स्थायी कमिटी बैठक आइतवार बस्ने भएको छ । सोही बैठकले प्रधानमन्त्री केपी ओलीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरि निश्कासन गर्ने सम्भावना रहेको पनि स्रोतले जनाएको छ ।

जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सुदूरपश्चिम बाहिरिएको छ । मूलपानी मैदानमा लुम्बिनी प्रदेशसँग ६ विकेटले पराजित भएको सुदूरपश्चिम बाहिरिएको हो । यता, टियु क्रिकेट मैदानमा शनिबार कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै एपीएफले लगातार तेस्रो जित निकालेको छ ।

वैदेशिक रोजगारीको क्रममा मलेसियामा पुगी त्यहाँ मृत्यु भएका १७ नेपालीको शव शनिबार नेपाल ल्याइएको छ । विभिन्न मितिमा मृत्यु भएका उनीहरुको शव नेपाल एयरलाइन्सले ल्याइएको हो । नेपाल वायुसेवा निगमले सामाजिक उत्तरदायित्व अनुसार सो शव ल्याउने निर्णय गरेको थियो ।

Logo