नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान पाँच दलीय गठबन्धन सरकार अविलम्ब हट्नुपर्ने बताएका छन् । आज शुक्रवार छवि कार्कीको १२ औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले देशको चाबी लिएरै ढुकुटी लुट्ने काम गठबन्धनको सरकारले गरेको आरोप लगाए । अध्यक्ष ओलीले अन्य सरकार भएको भए अहिलेसम्म मैनबत्ती झैँ पग्लिएर सरकारबाट हटिसकेको हुने भए पनि अहिलेको सरकार तमासा देखाएर बसेको बताए । उनले गठबन्धनको सरकारलाई अब स्वीकार्न नसकिने उल्लेख गर्दै गठबन्धन सरकार नराम्रा कामहरूको थुप्रो भएको बताए ।
उनले भने , ‘यो सरकारको के काम रु लाज छैन, मल दिन सकेको छैन रु देशको अर्थतन्त्र यस्तो बनाएको छ । देशको साँचो लिएरै ढुकुटीमा गएर लुट्ने । यो सरकारको काम छैन । यो सरकार अविलम्ब हट्नुपर्छ । चुनावमा धाँदली, लुट हुन्छ । मतदातालाई कुटेर लखेट्छ । विकासका आयोजनाहरू सबै कटौती गरेको छ । यो सरकार नराम्रा कामको थुप्रो हो । एक वर्षमा एउटा राम्रो काम गरेन । यो सरकार हट्दैन भने जनताले टिपेर मिल्काउनुपर्छ ।’
अध्यक्ष ओलीले नेपाली कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवामा गलत गर्नेलाई कारबाही गर्ने हुत्ती नरहेको बताए । उनले अर्थमन्त्री जनार्दन शर्माले आफैँ राजीनामा दिएको तर राजीनामा नदिएको भए पनि कारबाही गर्ने आँट प्रधानमन्त्रीमा नरहेको बताए ।
अध्यक्ष ओलीले प्रचण्डपथ भनेको देशलाई भड्खारोमा लाने पथ भएको आरोप पनि लगाए । उनले मन्त्रालयमा सचिवले बजेट बनाउन नपाउने तर व्यापारीका मान्छे ल्याएर करका दर र अन्तःशुल्क तय हुनु देश गम्भीर सङ्कटतर्फ उन्मुख भएको प्रमाण रहेको बताए ।
अध्यक्ष ओलीले जनयुद्धका नाममा माओवादीले गरेको हिंसा जनयुद्ध नभएको दाबी गरे । उनले निहित स्वार्थका लागि र केही व्यक्तिको स्वार्थका लागि, कसैको इसारामा, कतैको योजनामा, नेपाली जनताको जीवनमाथि खेलबाड गर्न नेपालमा सशस्त्र द्वन्द्वको नाममा माओवादीले जनहीत विपरीतका काम गरेको बताए । अध्यक्ष ओलीले माओवादीले शान्ति प्रक्रियामा आइ हतियारको प्रयोग छोडेँ भनिसकेपछि पनि नेकपा एमालेका तत्कालीन कार्यकर्ता छवि कार्कीको अमानवीय ढङ्गले हत्या गरेको उल्लेख गरे ।
अध्यक्ष ओलीले २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले गरेको घोषणा सर्वदलीय स्वीकृतिमा पार्टीले तयार पारेको ड्राफ्ट भएको र पार्टी कार्यालय बल्खुमा बसेर आफैँले त्यो ड्राफ्ट तयार गरेको दाबी गरे ।





























प्रतिक्रिया