व्रत बसेको दिन यौनसम्पर्क, कति उचित कति अनुचित ?

व्रत बसेका बेला यौनसम्पर्क गर्न हुन्छ कि हुँदैन भन्ने प्रश्न धेरैको मनमा उब्जिने गरेको पाइन्छ । हुन पनि विश्वमै मानिसले सबैभन्दा बढी सोच्ने विषय नै यौन हो । यसकारण व्रत बसेको समयमा वा व्रत तोडेको रात सहवास गर्न हुन्छ कि हुँदैन भन्ने जिज्ञासा उठ्नु स्वाभाविक नै हो ।
यौनका विषयमा धर्मशास्त्र, नीतिशास्त्र एकातिर छन् भने अर्को कित्तामा विज्ञान, चिकित्साशास्त्र छन् । यी दुईबीच परस्पर विरोधी विचार भएकाले कुनचाहिँलाई सही मानेर अघि बढ्ने भन्ने कुरामा सदैव अलमलको स्थिति रहिआएको पाइन्छ ।

धर्मशास्त्रको कुरा गर्ने हो भने यसले बाँदरले जस्तो जुनसुकै समयमा यौनसम्पर्क राख्न अनुमति दिँदैन । यौनमा संयमको माग गर्छ, यसलाई सदाचारसित जोडेर व्याख्या गर्छ । विवाहेतर यौनसम्बन्धलाई पाप मानेर वर्जित गर्छ । अनि उपवास वा व्रतका बेलामा त यौनसम्पर्क राख्न त के सोच्नै नहुने विषय बताउँछ । यौनमा संयमी व्यक्ति मेधाशक्तिले युक्त हुन्छ, वीर्य शक्तिको परिचायक हो, तसर्थ यसलाई जथाभावी खेर फाल्नुहुँदैन भन्छ । ब्रह्मचर्यमा बस्न आदेश गर्छ । यद्यपि सनातन धर्मका कतिपय सन्दर्भमा यौन पवित्र एवं प्रजननको आधार भएकाले शुद्ध र सात्विक अवस्थामा प्रसन्न चित्तले निश्चित उद्देश्यपूर्तिका लागि यौनसम्बन्ध राख्नुपर्ने बताइएको छ । तर तीजजस्ता व्रतका बेला यौनसम्पर्क राख्न वर्जित नै गरेको छ ।

उता विज्ञानले यौनलाई भौतिक रूपमा व्याख्या गर्छ । चिकित्साशास्त्रले यस विषयमा धर्मशास्त्रले जस्तो कडाइ गरेको छैन । यो शारीरिक अवस्थासँग सम्बद्ध जैविक प्रक्रिया भएको हुनाले शरीरले आवश्यक ठानेको जुनसुकै समयमा पनि यौनसम्पर्क गर्न सकिने बताउँछ ।

शास्त्रीय मत

शास्त्रअनुसार उपवासको अर्थ भगवानको समीपमा रहने भन्ने हो । दिनभर भगवानमा मन लागिसकेपछि सहवासको कुरा कसले पो सोच्छ र ? यस्तो आदर्श शास्त्रले कल्पेको छ ।

धर्मशास्त्र र परम्पराअनुसार हरितालिका तीजमा व्रत बसेका महिलाले पतिसँग सहवास गर्दैनन् र उनीहरू त्यस दिन पतिसँग सुत्दैनन् पनि । व्रत बसेका बेलाको मनोदशा पनि फरक हुन्छ । त्यति बेला सामान्य मानिसमा यौनसम्पर्क राख्ने कुरा मनमा खासै पलाउँदैन पनि ।

हाम्रो सामाजिक प्रचलनले पनि तीजको व्रत बसेका बेला यौनसम्बन्ध राख्नु हुँदैन भनेर नै महिलाहरू माइत जाने प्रचलन बसालेको छ । घर छाडेर माइत जानुको अर्थ यौनसम्पर्क गर्न रोक्नका लागि अपनाइएको उपाय हो । फेरि व्रतोपवास भनेकै भोक र कामवासनालाई नियन्त्रण गरेर भगवानमा भक्ति लगाउनका लागि गरिने कुरा हो, त्यसैले व्रतका समयमा यौनसम्पर्क राख्दा व्रतको फल प्राप्त हुँदैन भन्ने शास्त्रीय मान्यता छ ।

दिनभर भगवानको नाममा उपवास बसेकी महिलामाथि सहवासको कुरा सोच्न पनि नहुने कुरा शास्त्रले बताउँछ । व्रत बसेको दिन उनीहरू मानसिक रुपमा पनि तयार हुन नसक्ने र शारीरिक रूपले पनि निकै थकित हुने हुँदा सहवासका लागि बाध्य बनाउन नहुने परम्परागत मान्यता पाइन्छ । व्रत बसेकी महिला बेलुका श्रीमानसँग नसुती अलग्गै सुत्नुपर्ने शास्त्रीय मर्यादा छ । धार्मिक आस्थाले भगवानप्रति भक्तिभाव लगाइरहेका बेला कामवासना नियन्त्रण नगरी यौनक्रीडामा लिप्त हुँदा व्रतको फल नपाइने शास्त्रीय मत छ ।

विज्ञानको मत

धर्मशास्त्रले व्रत बसेका बेला यौनसम्बन्ध राख्न वर्जित गरे पनि विज्ञानले भने आफ्नो शारीरिक र मानसिक अवस्था विचार गरी मन लागेको गर्न सकिने बताउँछ । यद्यपि व्रत बसेका बेला शारीरिक र मानसिक रूपमा थकित हुने भएकाले यौनसम्पर्क राख्दा पीडादायी हुनसकने यौन विशेषज्ञहरू बताउँछन् । व्रतका कारण व्यक्तिको मनोदशा यौनका लागि तयार नहुनसक्छ । कतिपय अवस्थामा शरीर र मनबीच यौनसम्पर्क राख्ने कि नराख्ने भनेर द्वन्द्वको स्थिति सिर्जना हुनसक्छ । यस्तो अवस्थामा यौनसम्पर्क राख्दा त्यो सम्भोग नभएर मैथुन मात्र हुनसक्छ । यो कुरामा चाहिँ विचार गरेर सहज वातावरण बनाई यौनसम्बन्ध राख्दा केही फरक नपर्ने बताउँछ ।

व्रत बसेका बेला शरीरमा पानी, ग्लुकोज आदिको स्तरमा फरक पर्ने र त्यसबाट क्यालोरीको मात्रा कम हुने हुन्छ । यौनसम्पर्क राख्दा धेरै क्यालोरी खर्च हुन्छ, त्यसैले थप कमजोर हुनसक्ने भएकाले सम्बन्ध नराख्न सकिने पनि बताउँछन् विशेषज्ञहरू । यद्यपि कतिपयका मतमा एकाग्र चित्तले व्रत बस्दा शरीर फुर्तिलो र मन चङ्गा हुने भएकाले यौनेच्छा बढ्छ, केही व्यक्तिको शारीरिक संरचना नै भोकै बस्दा अझ फुर्तिलो हुने खालको हुन्छ तसर्थ सम्बन्ध राख्दा राम्रो हुन्छ भन्ने छ ।

वैज्ञानिक हिसाबले व्रतका बेला यौनसम्पर्क राख्न नहुने कुनै कारण छैन । तर, केही दिनको विश्रामपछि यौन सम्बन्ध झन् सन्तुष्टियुक्त हुने गर्छ । त्यसैले व्रत लिएका महिला–पुरुषले व्रतका समयमा मानसिक रूपमा तयार नहुने भएकाले पनि यति बेला यौनसम्पर्क नराखी केही दिन पर्खेर यौनसम्पर्क राख्नु उचित हुन्छ ।

समग्रमा भन्दा धार्मिक एवं मानसिक हिसाबले यौनसम्बन्ध राख्न तयार नहुने भएकाले व्रत बसेका बेला यौनसम्पर्क नराख्नु उचित हुन्छ । यौन सम्पर्कका बेला थोरै भए पनि शारीरिक ऊर्जा क्षय हुने भएकाले केही नखाई बस्ने तीज व्रतका बेला महिलाले कमजोरी महसुस गर्छन् । फेरि व्रतसँग सामाजिक सीमा, मर्यादा र नैतिक मूल्य–मान्यता गाँसिने भएकाले यो बेला यौन आनन्दभन्दा यसपछि आत्मग्लानि वा पश्चात्तापको अनुभूति हुन सक्ने भएकाले यौनसम्बन्ध नराख्नु नै राम्रो मानिन्छ । यद्यपि विज्ञानले भने धर्मशास्त्रका कुरालाई अस्वीकार गर्दछ । यौन मानव जीवनको सामान्य प्रक्रिया भएकाले महिला मानसिक तथा शारीरिक रूपले तयार भएमा यौनसम्पर्क राख्न बाधा नहुने बताउँछ । आफ्नो पार्टनरको मनोभाव बुझेर निर्धक्क यौनसम्पर्क गर्न सकिने बताउँछ ।